युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट संलग्न रहेको जेलेन्स्कीको दाबी
काठमाडौँ, ८ असोज । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनविरुद्ध जारी युद्धमा ४७ देशका नागरिकलाई प्रयोग गरिरहेको दाबी गरेका छन्। संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उनले घाना, नेपाल, भारतलगायत देशका नागरिक रुसी पक्षबाट युद्धमा संलग्न रहेको बताएका हुन्।
जेलेन्स्कीले रुसले विभिन्न देशका नागरिकलाई ‘छल र प्रलोभन’मार्फत युद्धमा तानिरहेको आरोप लगाउँदै सम्बन्धित देशका सरकारलाई आफ्ना नागरिकको सुरक्षामा ध्यान दिन आग्रह गरे। उनले नेपालसहित घाना, ताजिकिस्तान, भारत, यमन, केन्या, जिम्बाब्वे, क्युबा, बेलारुस, सुडान र दक्षिण अफ्रिकालगायत देशका नागरिक रुसी युद्ध प्रयासमा प्रयोग भइरहेको दाबी गरेका छन्।
दुई उत्तर कोरियाली सैनिक दक्षिण कोरिया पठाइएको दाबी
जेलेन्स्कीले रुससँग सैन्य सहकार्य गरिरहेको उत्तर कोरियाका दुई सैनिकलाई युक्रेनले पक्राउ गरी हालै दक्षिण कोरिया पठाएको पनि जानकारी दिए।
ती दुई सैनिकलाई सन् २०२५ को जनवरीमा रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाले पक्राउ गरेको थियो। उनीहरूले दक्षिण कोरिया जान इच्छा व्यक्त गरेको विवरण यसअघि सार्वजनिक भएको थियो।
दक्षिण कोरियाको विदेश मन्त्रालयले स्थानान्तरणको विस्तृत विवरण भने पुष्टि गरेको छैन। मन्त्रालयले युक्रेनलगायत सम्बन्धित देश तथा निकायसँग आवश्यक परामर्श भएको र सैनिकहरूको स्वतन्त्र इच्छाको सम्मान गर्दै अन्तर्राष्ट्रिय कानुन तथा मानवीय सिद्धान्तअनुसार विषय टुङ्ग्याउने दिशामा काम भइरहेको जनाएको छ। सुरक्षा संवेदनशीलताका कारण उनीहरूको स्थानान्तरणको समय, मार्ग र अन्य विवरण सार्वजनिक नगरिएको बताइएको छ।
रुस र उत्तर कोरियाले सन् २०२५ मा आफ्ना सैनिकले कुर्स्क क्षेत्रमा युक्रेनविरुद्ध रुसी सेनासँग मिलेर लडेको पुष्टि गरेका थिए।
जेलेन्स्कीले युक्रेनले फिनल्यान्ड, अस्ट्रेलिया र अन्य साझेदार मुलुकसँग ड्रोन तथा सुरक्षा सहकार्य विस्तार गरिरहेको पनि बताए। उनका अनुसार क्यानाडासँग पनि ड्रोनसम्बन्धी सम्झौताको तयारी भइरहेको छ।
यसैबीच, आगामी हिउँदमा रुसी ताप तथा ऊर्जा पूर्वाधारलाई युक्रेनले लक्षित गर्न सक्ने संकेत जेलेन्स्कीले दिएका छन्। उनले रुसले युक्रेनका नागरिक ताप तथा इन्धन पूर्वाधारमा आक्रमण गरिरहेको दाबी गर्दै युद्धका लागि आवश्यक रुसी आम्दानीको स्रोतमा असर पार्ने उद्देश्य रहेको बताएका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस र युक्रेन दुवैलाई एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न वासिङ्टनले दबाब दिइरहेको बताएका केही घण्टापछि जेलेन्स्कीको यस्तो भनाइ आएको हो।
जेलेन्स्कीले रुसको पेट्रोल तथा डिजेल आपूर्ति पूर्ण रूपमा नष्ट गर्नु युक्रेनको उद्देश्य नभएको, बरु युद्ध सञ्चालनका लागि रुसले प्राप्त गर्ने आम्दानीमा असर पार्नु लक्ष्य रहेको बताएका छन्। उनले रुससँगको व्यापारबाट प्राप्त आम्दानीले युद्ध लम्बिन सक्ने दाबी गर्दै व्यापार सीमित गर्न आग्रहसमेत गरेका छन्।
