संयुक्त राष्ट्रसङ्घमा पेजेस्कियानको चेतावनी : वार्ता स्वीकार्य, बल प्रयोगको दबाब स्वीकार्य छैन
काठमाडौँ, ८ असोज । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै अमेरिकी आक्रमणको आलोचना गरेका छन्। उनले इरान वार्ता र कूटनीतिका लागि तयार रहेको तर बल प्रयोग वा धम्कीको दबाबमा सम्झौता नगर्ने स्पष्ट पारेका छन्।
महासभामा बोल्दै पेजेस्कियानले इरानी जनता अमेरिकी ‘आतङ्कवादको सिकार’ भएको दाबी गरे। उनले इरानले आफ्नो रक्षा मात्र गरेको बताउँदै आफूहरू आतङ्कवादी नभएको र आफ्ना निर्दोष नागरिक आक्रमणको निशाना बनेको दाबी गरे।
उनले आफ्नो सम्बोधनका क्रममा दिवङ्गत सर्वोच्च नेता अली खामेनी तथा युद्धको सुरुआती चरणमा मारिएका विद्यालयका विद्यार्थीका तस्बिरसमेत प्रदर्शन गरेका थिए। पेजेस्कियानले अमेरिकी दबाबका बाबजुद इरानले आत्मसमर्पण नगर्ने बताएका छन्।
पेजेस्कियानको सम्बोधन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दिनअघि इरानसँग छिट्टै सम्झौता नभए कडा कदम चाल्ने चेतावनी दिएको पृष्ठभूमिमा आएको हो।
अमेरिकी अधिकारीहरूले इरानको आणविक कार्यक्रम र अन्य सुरक्षा नीतिमा परिवर्तन आवश्यक रहेको बताउँदै वार्ता असफल भए विभिन्न विकल्प खुला रहेको बताएका छन्।
यसअघि ट्रम्पका प्रमुख दूत स्टिभ विटकफ र जारेड कुसनरले इरानी अधिकारीहरूसँग गरेको सम्पर्कलाई ट्रम्पले सकारात्मक रूपमा वर्णन गरेका थिए। तर इरानी पक्षले उक्त सम्पर्कबाट नयाँ सहमतिको आधार तयार नभएको जनाएको छ।
अमेरिका–इरान वार्तालाई लिएर इरानभित्र पनि मतभेद देखिएको बताइएको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीको कूटनीतिक प्रयासप्रति केही नेताले आलोचना गरेका छन्।
यसैबीच, हर्मुज जलघाँटीमा बुधबार अर्को कार्गो जहाज अज्ञात प्रक्षेप्यबाट प्रहार भएको बेलायती समुद्री व्यापार सञ्चालन निकाय (यूकेएमटीओ) ले जनाएको छ।
घटनामा दुई जनाको मृत्यु भएको तथा आगलागीपछि चालकदलले जहाज छाडेको र जहाज डुबेको जनाइएको छ। हर्मुज जलघाँटीमा जारी सुरक्षा जोखिमका कारण यस क्षेत्रको व्यावसायिक समुद्री आवागमन प्रभावित हुँदै आएको छ।
यसैबीच, अमेरिकी समर्थन प्राप्त ‘बोर्ड अफ पिस’ ले गाजाको पुनर्निर्माण र शासन व्यवस्थासम्बन्धी कार्य अघि बढाउन छ महिनाका लागि २ अर्ब ४५ करोड अमेरिकी डलर बराबरको योजना प्रस्ताव गरेको छ।
प्रस्तावित योजनामा पूर्वाधार, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित ६६ परियोजना समेटिएका छन्। बोर्डका अनुसार गाजाको पुनर्निर्माणका लागि मध्यम अवधिमा करिब ३५ अर्ब २० करोड डलर आवश्यक पर्नसक्ने तथा आगामी १० वर्षमा थप ७१ अर्ब ४० करोड डलर खर्च हुनसक्ने अनुमान गरिएको छ।
उता, कब्जामा रहेको वेस्ट ब्याङ्कमा अमेरिकी राजदूत येचिएल लेइटरका छोरा तथा इजरायली सेनाका रिजर्भ सैनिक नेरिया लेइटर गम्भीर घाइते भएका छन्।
इजरायली अधिकारीका अनुसार बेइट होरोननजिकैको सुरक्षा चौकीमा एक प्यालेस्टिनी व्यक्तिले कार ठोक्काउँदा उनी घाइते भएका हुन्। घटनापछि भाग्न खोज्ने ती व्यक्तिलाई इजरायली सेनाले गोली हानेर मारेको जनाइएको छ।
यसैबीच, इजरायलको केन्द्रीय निर्वाचन समितिले आगामी अक्टोबरमा हुने संसदीय निर्वाचनमा प्रमुख अरब राजनीतिक दल तथा केही उम्मेदवारलाई सहभागी हुनबाट रोक्ने पक्षमा मतदान गरेको छ। निर्णयविरुद्ध सम्बन्धित पक्षले सर्वोच्च अदालतमा अपिल गर्ने बताएका छन्।
समितिले युनाइटेड अरब लिस्ट (राम) र जोइन्ट लिस्टलाई निर्वाचनमा सहभागी हुन अयोग्य ठहर गर्ने निर्णय गरेको छ। बालाडका नेता सामी अबु शेहादेह र हदासका सांसद ओफर कासिफसम्बन्धी छुट्टाछुट्टै अयोग्यताका निर्णयसमेत भएका छन्। यद्यपि यी निर्णय अन्तिम भने होइनन् र सर्वोच्च अदालतबाट अन्तिम टुङ्गो लाग्न बाँकी छ।
आगामी अक्टोबर २७ मा हुने निर्वाचनमा यी दल तथा उम्मेदवारको सहभागितासम्बन्धी विवाद अब सर्वोच्च अदालतको निर्णयमा निर्भर हुनेछ।
