होल्डिङ सेन्टरबाट पनि हटाइँदै सुकुम्बासी, कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न ५ दिने अल्टिमेटम
काठमाडौँ, ९ असार । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीहरूलाई आगामी शुक्रबारभित्र भवन खाली गर्न ५ दिने अल्टिमेटम दिएको छ। समितिले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै त्यहाँ आश्रय लिइरहेका सुकुम्बासीहरूलाई आफ्नै पहलमा स्व-व्यवस्थापन गरी भवन खाली गर्न निर्देशन दिएको हो।
समितिका सूचना अधिकारी टोपबहादुर बानियाँका अनुसार हाल कीर्तिपुरको होल्डिङ सेन्टरमा ६८ परिवारका २०३ जना सुकुम्बासीहरू बस्दै आएका छन्। ती परिवारहरूलाई आफैँ बस्ने व्यवस्था मिलाउन (स्व-व्यवस्थापनका लागि) प्रतिपरिवार एकमुष्ट २५ हजार रुपैयाँ बैंक खातामै उपलब्ध गराइने छ।
“राहत रकम पाउनका लागि बैंक खाता नम्बरसहितको निवेदन पेस गर्न भनिसकेका छौँ, खाता प्राप्त हुनासाथ रकम पठाइनेछ,” सूचना अधिकारी बानियाँले भन्नुभयो, “आगामी दिनमा उनीहरू वास्तविक सुकुम्बासी प्रमाणित भएमा थप मासिक १५ हजार रुपैयाँ जीवनयापनका लागि पाउने व्यवस्थासमेत छ।”
वि.सं. २०८३ वैशाख १२ देखि २० गतेसम्म काठमाडौँ उपत्यकाका विभिन्न नदी किनारमा रहेका जोखिमयुक्त सुकुम्बासी बस्तीहरू हटाइएको थियो। सो क्रममा विस्थापित भएका २ हजार ६०८ जनाले आफ्नो नाम दर्ता गराएका थिए। सरकारको निर्णयअनुसार विभिन्न होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका विस्थापितहरूलाई स्व-व्यवस्थापन गर्न २५ हजार रुपैयाँ उपलब्ध गराउने नीति अनुरूप यो प्रक्रिया सुरु गरिएको हो।
प्रारम्भिक चरणमा कीर्तिपुर होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने प्रक्रिया थालिएको र क्रमिक रूपमा अन्य स्थानका होल्डिङ सेन्टरहरूलाई पनि खाली गराइने समितिले जनाएको छ। सूचना जारी गर्दा पनि तोकिएको समयभित्र हट्न अस्वीकार गर्नेहरूको हकमा कसरी अघि बढ्ने भन्नेबारे सरकारसँग आवश्यक समन्वय र छलफल भइरहेको सूचना अधिकारी बानियाँले जानकारी दिनुभयो।