विश्वकपमा कोलम्बियाको लगातार दोस्रो जित, नकआउट चरणमा प्रवेश
काठमाडौँ, १० असार । ड्यानियल मुनोजको दोस्रो हाफको निर्णायक गोलको मद्दतमा कोलम्बियाले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कंगो लोकतान्त्रिक गणतन्त्र (डीआर कंगो) लाई १–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
ग्वाडालाजारा स्टेडियममा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा कोलम्बियाले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गरे पनि डीआर कंगोका गोलरक्षक लियोनेल म्पासीले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा टिकाइरहेका थिए।
पहिलो हाफमा जोन एरियास, ड्यानियल मुनोज, जेम्स रोड्रिगेज, लुइस डियाज र गुस्ताभो पुएर्टाका प्रयासहरू म्पासीले विफल पारे। मुनोजले गरेको एक गोल अफसाइडका कारण मान्यता पाउन सकेन।
दोस्रो हाफमा पनि कोलम्बियाले दबाब कायम राख्यो। खेलको ७६औँ मिनेटमा वैकल्पिक खेलाडी जोन कोर्डोबाको उत्कृष्ट होल्डअप प्लेपछि प्राप्त अवसरलाई मुनोजले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए। उनको प्रहार डिफ्लेक्ट हुँदै जाली चुमेको थियो।
अन्तिम समयमा डीआर कंगोले बराबरी गोलका लागि दबाब सिर्जना गरे पनि कोलम्बियाले अग्रता जोगाउन सफल रह्यो। लुइस डियाजले दुई पटक गोल गरे पनि दुवै प्रयास अफसाइड ठहरिए।
यस जितसँगै दुई खेलबाट ६ अंक जोडेको कोलम्बिया समूह ‘के’ को शीर्ष दुईभित्र रहँदै अन्तिम ३२ मा पुगेको छ। अब कोलम्बियाले समूहको अन्तिम खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ।
पराजित डीआर कंगो भने अझै पनि प्रतियोगितामा रहने सम्भावनामा छ। त्यसका लागि उसले अन्तिम खेलमा उज्बेकिस्तानलाई हराउनुका साथै अन्य नतिजा पनि आफ्नो पक्षमा पार्नुपर्नेछ।
लगातार दोस्रो विश्वकप खेलमा गोल गरेका मुनोज खेलका उत्कृष्ट खेलाडी घोषित भए।
खेलपछि कोलम्बियाका प्रशिक्षक नेस्टर लोरेन्जोले टोलीको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गर्दै खेलाडीहरूको मिहिनेतकै कारण सफलता सम्भव भएको बताए। गोलकर्ता मुनोजले भने टोली र समर्थकहरूलाई जित समर्पित गर्दै अझ ठूलो उपलब्धिको लक्ष्य रहेको प्रतिक्रिया दिए।