अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ ३० प्रतिशतले घट्दा पनि नेपालमा किन घटेन? आयल निगममाथि कांग्रेस महामन्त्री पौडेलको प्रश्न

काठमाडौँ, १२ असार । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आउँदा पनि नेपाली उपभोक्ताले त्यसको लाभ पाउन नसकेको भन्दै सरकार र नेपाल आयल निगमको कडा आलोचना गर्नुभएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७.६३ डलरबाट घटेर ६९.२१ डलरमा झरिसक्दा (करिब ३० प्रतिशत गिरावट) पनि नेपाली उपभोक्ताले महँगो दरमै इन्धन किन्नुपर्ने बाध्यता रहेको भन्दै महामन्त्री पौडेलले आपत्ति प्रकट गर्नुभएको हो।

मूल्य नघट्नुका पछाडि आयल निगमले दिने गरेको ‘प्रशोधित तेल किन्ने भएकाले तुरुन्तै मूल्य घट्दैन’ भन्ने तर्कलाई पौडेलले ‘प्राविधिक बहाना’ को संज्ञा दिनुभएको छ। “कच्चा र प्रशोधित तेलको मूल्य समायोजनमा केही समयको अन्तर हुनु स्वभाविक हो, तर यति ठूलो गिरावट आउँदा पनि प्रशोधित तेलको लागत सोही अनुपातमा नघट्नु र उपभोक्तालाई लाभ नदिनु रहस्यमयी छ,” उहाँले भन्नुभएको छ।

महामन्त्री पौडेलले निगमले वास्तविक सूचना लुकाएर आम नागरिकलाई मारमा पारेको आरोप लगाउनुभएको छ। उहाँले यस घटनालाई सरकार र निगमभित्रको सुशासनको अभाव, चरम व्यवस्थापकीय कमजोरी र पारदर्शिताको कमीको रूपमा चित्रण गर्नुभएको छ।

निगमले लागू गरेको स्वचालित मूल्य प्रणाली प्रति लक्षित गर्दै पौडेलले भन्नुभएको छ— “भाउ बढ्ने बेलामा १५/१५ दिनको सूची अनुसार तुरुन्तै लागू हुने, तर घट्ने बेलामा चाहिँ किन लागू हुँदैन? घाटा हुँदा महँगो मूल्य तिरेर साथ दिने उपभोक्ताले सस्तो हुँदा राहत पाउनुपर्ने होइन र?”

उहाँले अन्तर्राष्ट्रिय बजारको मूल्य गिरावट अनुसार तत्काल नेपाली बजारमा पनि इन्धनको मूल्य समायोजन गरी आम नागरिकलाई राहत दिन सरकारसँग माग गर्नुभएको छ।