१६औँ दक्षिण एसियाली शारीरिक सुगठन: नेपाललाई स्वर्णसहित तीन पदक, आकाश श्रेष्ठले जिते स्वर्ण

 

काठमाडौँ, १९ असार । नेपालले भुटानको थिम्पुमा जारी १६औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्णसहित तीनवटा पदक प्राप्त गरेको छ। प्रतियोगितामा नेपाली टोलीले एक स्वर्ण, एक रजत र एक कास्य पदक जित्न सफल भएको हो।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासङ्घका सचिव दिनेशकुमार राजभण्डारीका अनुसार पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमुनिको विधामा नेपालका आकाश श्रेष्ठले स्वर्ण पदक प्राप्त गर्नुभएको छ।

यसैगरी, महिला एथलेटिक फिजिक विधामा नेपालकी सीता खत्रीले रजत पदक जित्नुभएको छ भने पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमाथिको विधामा पुकार शाक्यले कास्य पदक हात पार्नुभएको छ।

पहिलो अन्तर्राष्ट्रिय सहभागितामै पदक दिलाउन सफल भएका यी तीनै जना नेपाली खेलाडीहरूको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। नेपालले दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको पहिलो संस्करणदेखि नै नियमित रूपमा सहभागिता जनाउँदै आएको छ।