देश रूपान्तरणका लागि वैचारिक स्पष्टता अनिवार्य, लोकप्रियतावादले संकट झन् गहिराउँछ: महासचिव पोखरेल

काठमाडौँ, २९ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको विद्यमान राजनीतिक तथा सामाजिक संकटको निकास ‘पपुलिजम’ (लोकप्रियतावाद) वा क्षणिक उत्तेजनाबाट सम्भव नभएको ठोकुवा गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो विशेष राजनीतिक टिप्पणी सार्वजनिक गर्दै महासचिव पोखरेलले देशको वास्तविक रूपान्तरणका लागि वैचारिक स्पष्टता, निश्चित गन्तव्य र राजनीतिक इमानदारीलाई अनिवार्य सर्तका रूपमा अघि सारेका हुन्।

महासचिव पोखरेलले पछिल्लो समय नेपाली समाजले राजनीतिक सुधारको नाममा ‘गलत नेतृत्व’ माथि भरोसा गरेर ठूलो ऐतिहासिक भूल गरेको दाबी गरेका छन्। “आफैँभित्रका विकृति र आचरणगत कमजोरीहरू सुधार्न नसकेको नेतृत्वलाई विकृति अन्त्य र राजनीति सुधारको जिम्मा सुम्पनु नै हाम्रो सबैभन्दा ठूलो भूल थियो भन्ने कुरा नेपाली समाजले विस्तारै महसुस गर्न थालेको छ,” पोखरेलले उल्लेख गरेका छन्। उनले नेतृत्वको व्यक्तिगत आचरण र सार्वजनिक एजेन्डाबीच तालमेल नहुँदा त्यसले समाजलाई थप अन्योलतर्फ धकेल्ने तर्क गरेका छन्।

चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश बदल्ने दाबी गर्नेहरूको कार्यशैलीलाई पोखरेलले ‘पूर्णतः विरोधाभासपूर्ण’ संज्ञा दिएका छन्। उनले लोकप्रियतावादी शक्तिहरूले जनतामा परिवर्तनको भ्रम छरे पनि उनीहरूको व्यवहारले देशको जग नबदलिने स्पष्ट पारेका छन्। “चर्का भाषणका आधारमा देश रूपान्तरण सम्भव छैन भन्ने कटु यथार्थ आज छर्लङ्ग भइसकेको छ,” पोखरेलले लेखेका छन्।