साउनका लागि ६ वाणिज्य बैंकद्वारा ब्याजदरमा थप कटौती, बैंकिङ प्रणालीमा अधिक तरलता
काठमाडौँ, ३२ असार । नेपालका वाणिज्य बैंकहरूले आगामी महिना साउनका लागि निक्षेपको ब्याजदरमा पुनः संकुचन गरेका छन्। सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार, प्रणालीमा रहेको अधिक तरलता र न्यून कर्जा मागका कारण बैंकहरूले ब्याजदर ओरालो झार्ने क्रमलाई निरन्तरता दिएका हुन्।
बैंकिङ क्षेत्रको तथ्याङ्क अनुसार, साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिइने अधिकतम औसत ब्याजदर ४.१६ प्रतिशत कायम भएको छ। यो अघिल्लो महिना असारको औसत ४.२५ प्रतिशतको तुलनामा ०.०९ प्रतिशत विन्दुले न्यून हो। २० मध्ये ६ वटा बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १४ बैंकले असारकै दरलाई यथावत राखेका छन्।
यस पटक सरकारी र निजी क्षेत्रका ठुला बैंकहरूले ब्याजदरमा उल्लेख्य कटौती गरेका छन्:
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ सबैभन्दा बढी ०.७५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ। भने ग्लोबल आइएमई बैंकले ब्याजदरमा ०.५ प्रतिशत विन्दुको कटौती गरेको छ।
त्यस्तै एनएमबि बैंकले ०.२५ प्रतिशत विन्दुले दर घटाएको छ। भने सिटिजन्स बैंक इन्टरनेशनलले ०.१५ प्रतिशत विन्दुको घटाएकाे छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंक: ०.१ प्रतिशत विन्दुले कटौती र कुमारी बैंक: ०.०६ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ।
साउनमा निक्षेपकर्ताका लागि नबिल बैंक र प्रभु बैंक सबैभन्दा आकर्षक देखिएका छन्, जसले मुद्दती निक्षेपमा अधिकतम ४.५५ प्रतिशत ब्याज प्रदान गर्नेछन्। अर्कोतर्फ, कुमारी बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा न्यून ३.९५ प्रतिशत मात्र ब्याजदर तोकेका छन्।
वाणिज्य बैंकहरूले लगातार ब्याजदर घटाउनुको मुख्य कारण बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिनु र सोही अनुपातमा कर्जाको माग नबढ्नु हो।