प्रणालीलाई मिचेर लोकप्रियतावादमा मन्त्रीको मोह : होटलमा छापा मार्ने गृहमन्त्रीको कदममाथि विज्ञहरूको प्रश्न

काठमाडौँ, साउन १ । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएसँगै विगत नौ दिनदेखि जारी आन्दोलन स्थगित भएको छ । तराई मधेशका विभिन्न जिल्लाबाट पैदल मार्चपास गर्दै काठमाडौंका लागि हिँडेका पीडितहरू र सरकारबीच शुक्रबार सहमति जुटेको हो । तर, यसैबीच मिटरब्याज पीडितलाई भेट्न बारा पुग्नुभएका गृहमन्त्री सुधन गुरुङको एउटा क्रियाकलापले भने सुरक्षा प्रशासन र राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ ।

के थियो घटना?
मिटरब्याज पीडितसँगको छलफल निष्कर्षविहीन भएपछि काठमाडौं फर्किने क्रममा गृहमन्त्री गुरुङ पर्साको ठोरीस्थित दुईवटा होटलमा आफैं छापा मार्न पुग्नुभएको थियो । स्थानीय केही व्यक्तिहरूले होटलमा ‘अनैतिक क्रियाकलाप’ हुने गरेको गुनासो गरे लगत्तै मन्त्री गुरुङ सुरक्षाकर्मीको दलबलसहित ‘ठोरी दोहोरी साँझ’ र ‘रिसोर्ट ठोरी क्याम्प फायर’ मा छिर्नुभएको थियो ।

मन्त्रीकै प्रत्यक्ष कमाण्डमा भएको उक्त छापा मार्ने कार्यबाट दुई होटल सञ्चालकसहित ९ जनालाई नियन्त्रणमा लिइयो । रोचक कुरा त के छ भने, उक्त छापा मार्ने बेलासम्म जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी उपरीक्षक (एसपी) लाई समेत कुनै जानकारी दिइएको थिएन । छापा मारिसकेपछि मात्र उहाँहरूलाई घटनास्थलमा बोलाइएको थियो ।

प्रणाली कि लोकप्रियतावाद?
गृहमन्त्री आफैं फिल्डमा उत्रिएर होटलमा छापा मारेको विषयलाई पूर्व सुरक्षा अधिकारीहरूले ‘लोकलुभावन’ तर ‘अपरिपक्व’ कदमका रूपमा टिप्पणी गरेका छन् । नीति निर्माण र राज्यको सुरक्षा संयन्त्रलाई निर्देशन दिने गरिमामय पदमा आसिन व्यक्ति आफैं प्रहरी हवल्दार वा इन्सपेक्टरले गर्ने कार्यमा संलग्न हुनुले प्रणालीमाथि नै प्रश्न उठाएको उनीहरूको बुझाइ छ ।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लका अनुसार, ‘हवल्दारले गर्ने काम गृहमन्त्रीले गर्नु शोभनीय विषय होइन । यदि प्रहरीले काम नगरेको भए सम्बन्धित अधिकारीलाई जवाफदेही बनाउने र कारबाही गर्ने अधिकार मन्त्रीसँग हुन्छ, तर आफैं फिल्ड पुलिसिङमा उत्रिँदा सुरक्षा निकायको मनोबल कमजोर हुन सक्छ ।’

त्यस्तै, अन्य विज्ञहरूले पनि नीतिगत सुधार, प्रहरीको स्रोत-साधन व्यवस्थापन र ऐन निर्माणमा केन्द्रित हुनुपर्ने विभागीय मन्त्री सस्तो लोकप्रियताका लागि ‘स्टन्ट’ मा लाग्नु दुःखद भएको बताएका छन् । एउटा एसएसपी वा डिआइजी समेत फिल्ड अपरेशनमा नगई नीतिगत तहमा रहने प्रचलन विपरीत मन्त्री आफैं ‘एक्सन’ मा उत्रिँदा यसले राज्य सञ्चालनको पद्धतिलाई नै गिज्याइरहेको देखिन्छ ।

कानुनी आधार र प्रचारमुखी शैली
पक्राउ परेका ७ जना युवती र २ सञ्चालकलाई कुनै ‘रंगेहात’ अनैतिक कार्यमा संलग्न भएको अवस्थामा फेला पारिएको थिएन। केवल होटलमा बसेकै आधारमा मन्त्रीको ठाडो निर्देशनमा पक्राउ गरिनुले कानुनी प्रक्रियामा समेत जटिलता आउन सक्ने देखिन्छ।

यति मात्र होइन, गृहमन्त्री गुरुङले मध्यरातमा निकुञ्जको बाटो हुँदै यात्रा गर्दाका भिडियोहरू आफैं फेसबुक स्टोरीमा राख्दै तस्करी नियन्त्रणका कुरा गर्नुभएको छ। मन्त्रीहरूको यस्तो प्रचारमुखी शैलीले प्रणालीलाई बलियो बनाउनुको सट्टा ‘व्यक्तिवादी’ र ‘लोकप्रियतावादी’ प्रवृत्तिलाई बढावा दिएको विश्लेषण गरिएको छ ।

अन्ततः, देशको गृह प्रशासन हाँक्ने जिम्मेवारी बोकेका मन्त्रीले व्यक्तिगत सक्रियता देखाउनु सकारात्मक पक्ष भए पनि, त्यसले स्थापित सुरक्षा संयन्त्रको मर्यादा र चेन अफ कमाण्डलाई भने बेवास्ता गरेको देखिन्छ । मन्त्रीहरू प्रणाली सुधारभन्दा पनि सामाजिक सञ्जालमा देखिने लोकप्रियतामा बढी रमाउन थाल्नुले दीर्घकालीन रूपमा राज्यका निकायहरू कमजोर बन्ने खतरा बढ्दै गएको छ ।