‘अविरल जनसाहित्य यात्रा’को १११ औँ शृङ्खलामा गुञ्जिए कवि निरञ्जनाका वैचारिक कविता
काठमाडौँ, ११ साउन । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालद्वारा २०७२ सालदेखि निरन्तर सञ्चालन भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को १११ औँ शृङ्खलामा प्रगतिवादी कवि निरञ्जना चन्द ‘निरु’का वैचारिक तथा सामाजिक रूपान्तरणमुखी कविताहरू प्रस्तुत गरिएका छन्।
सङ्घकी अध्यक्ष नर्मदेश्वरी सत्यालको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा नेकपा (एमाले) का नेता एवं सांस्कृतिक महासङ्घका इन्चार्ज जीवन घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। यस्तै प्रा. केशव सुवेदी, प्रा.डा. जीवेन्द्र देव गिरी, प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’, प्रा.डा. देवी नेपाल, महासङ्घकी उपाध्यक्ष नमुना शर्मा र महासचिव आर.सी. न्यौपाने विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
काव्य विभाग सदस्य गोपालकुमार मैनालीले सञ्चालन गर्नुभएको सो समारोहमा सङ्घका महासचिव डा. कृष्ण सुवेदीले आमन्त्रित कवि निरञ्जना चन्द ‘निरु’को परिचय प्रस्तुत गर्नुभएको थियो। वि.सं. २०४५ मा सुर्खेतको सिम्तामा जन्मी हाल बर्दियाको बाँसगढीलाई कार्यथलो बनाउनुभएकी चन्द शिक्षण पेसामा आबद्ध हुनुहुन्छ। उहाँका ‘निरुले साइनो’ (छोटा कवितासङ्ग्रह, २०७६), ‘निरुपण’ (मुक्तकसङ्ग्रह, २०७७) र ‘वनफूलको विद्रोह’ (कवितासङ्ग्रह, २०८२) प्रकाशित छन्। चन्दले नेपाल प्रज्ञाप्रतिष्ठानको राष्ट्रिय कविता महोत्सव लगायतका विभिन्न प्रतियोगिताहरूमा पुरस्कार प्राप्त गरिसक्नुभएको छ।
समारोहमा सङ्घकी अध्यक्ष सत्यालले १० वर्षअघि सुरु गरिएको यस अभियानले हरेक महिना एकजना प्रगतिवादी स्रष्टालाई प्रस्तुत गर्दै उनीहरूको व्यक्तित्व र कृतित्वमाथि चर्चा गर्ने गरेको बताउनुभयो।
एकल कविता वाचनको अवसर पाएकामा गौरव व्यक्त गर्दै कवि चन्दले समाजमा देखिएका जातीय उत्पीडन, वादी, राउटे र छाउपडी प्रथाका पीडा, युवा पलायन तथा दाइजो प्रथा जस्ता सामाजिक कुरूपतालाई कवितामा उतार्ने प्रयास गरेको बताउनुभयो। उहाँले आफ्ना ‘युगीन प्रतिध्वनि’, ‘अयोग्य योद्धा र पदचापहरू’, ‘वनफूल’, ‘मेरो बस्तीमा घाम किन आएन !’, ‘छाउगोठका शरणार्थी सपनाहरू’ र ‘मधेसको आँगनमा दहेज’ शीर्षकका ६ वटा वैचारिक कविता वाचन गर्नुभयो।
सोही अवसरमा सहयोगी कविहरू जयन्ता पोखरेल, यशोदा अधिकारी, रामचन्द्र दाहाल, माधव चौलागाईँ, गीता सापकोटा र प्रा.डा. जीवेन्द्र देव गिरीले पनि आ-आफ्ना रचना वाचन गर्नुभएको थियो।
वाचित कविताहरूमाथि टिप्पणी गर्दै समालोचक डा. अमृता शर्माले प्रस्तुत कविताहरूले कर्णालीको विकट भूगोलको सङ्घर्ष, सामाजिक विभेद, शोषण र महिलाले भोगेका उत्पीडनलाई विद्रोही चेतका साथ प्रस्तुत गरेको बताउनुभयो। उहाँले विचारप्रधान साहित्य सिर्जना गर्दा कलात्मकतामा ह्रास आउन नदिन सावधानी अपनाउनुपर्ने र समाज रूपान्तरणका लागि सङ्घर्ष नै मुख्य कडी भएको सुुझाव दिनुभयो।
प्रमुख अतिथि जीवन घिमिरेले समाज र संस्कृतिको जगेर्नामा स्रष्टाहरूको कलम सोझिनुपर्ने आजको आवश्यकता रहेको धारणा राख्नुभयो। सङ्घका उपाध्यक्ष रमेश पोखरेलले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी ११२ औँ शृङ्खलामा झापाका प्रगतिवादी कवि विन्दु दाहाल ‘मुकदर्शक’लाई प्रस्तुत गरिने जानकारीसहित कार्यक्रम समापन गर्नुभयो।