इलाममा अदुवाको मूल्यमा वृद्धि : व्यावसायिक खेतीतर्फ किसानको आकर्षण बढ्दो
काठमाडौँ, साउन २४ । इलाममा अदुवाको बजार मूल्यमा उल्लेख्य वृद्धि भएपछि यहाँका किसानहरू व्यावसायिक अदुवा खेतीतर्फ आकर्षित भएका छन् । अदुवाले उचित मूल्य पाउन थालेसँगै किसानहरूले आफ्नो खेती विस्तार गर्न थालेका हुन् ।
माङसेबुङ गाउँपालिका २ का कृषक देशराज लिम्बूले गत वर्ष अदुवा बिक्रीबाट तीन लाख १५ हजार रुपियाँ आम्दानी गर्नुभयो । प्रतिमन चार हजार ५०० रुपियाँका दरले अदुवा बिक्री गर्नुभएका लिम्बूले यस वर्ष खेती थप विस्तार गर्नुभएको छ । गत वर्ष ९० मन अदुवा उत्पादन गर्नुभएका उहाँले यस वर्ष २० मन बीउ रोप्नुभएको छ, जसबाट करिब १२० मन उत्पादन हुने र ५ लाख रुपियाँभन्दा बढी आम्दानी हुने उहाँको अपेक्षा छ ।
सोही ठाउँका अर्का किसान राजकुमार राईले पनि गत वर्ष ५० मन अदुवा बिक्री गरी दुई लाख रुपियाँभन्दा बढी आम्दानी गर्नुभयो । अदुवा खेतीबाटै घरखर्च र छोराछोरीको शिक्षाको प्रबन्ध मिलाउँदै आउनुभएका राईले यस वर्ष खेती बढाउनुभएको छ, जसबाट भविष्यमा बचत समेत हुने उहाँको विश्वास छ ।
यस्तै, माङसेबुङ ३ का तेजु राईले यस वर्ष १० रोपनी क्षेत्रफलमा ६० मन अदुवा रोपेर व्यावसायिक खेती सुरु गर्नुभएको छ । अदुवाको आकर्षक मूल्यका कारण पछिल्लो समय जिल्लाका किसानहरू धान तथा अन्य परम्परागत खेती छाडेर अदुवातर्फ मोडिएका छन् ।
कृषि ज्ञान केन्द्रका अनुसार अहिले बजारमा अदुवाको मुख्य उत्पादन (बच्चा) मात्र नभई बीउ (माउ) को मूल्य समेत उच्च छ । स्थानीय व्यापारी राम जवेगूका अनुसार झापाको धुलाबारीमा माउ अदुवा प्रतिमन सात हजार रुपियाँ र इलाममा छ हजार रुपियाँसम्ममा कारोबार भइरहेको छ । “बच्चा र माउ दुवैबाट छुट्टाछुट्टै आम्दानी हुने भएकाले किसानलाई दोहोरो फाइदा पुगेको छ ।” जवेगूले बताउनुभयो ।
यहाँका किसानले भैँसे (ठूलो), मझौला र साना गरी तीन जातका अदुवा खेती गर्दै आएका छन् । भदौसम्म माउ अदुवा र कात्तिकदेखि जेठसम्म मुख्य अदुवाको कारोबार हुने गर्दछ । इलाममा उत्पादित अदुवा बिब्ल्याँटे, मङ्गलबारे, गजुरमुखी, चतुरे, पशुपतिनगर र दानबारी लगायतका बजारहरूमा खपत हुने गरेको छ ।
तथ्याङ्क अनुसार इलाममा हाल तीन हजार २२१ हेक्टर क्षेत्रफलमा व्यावसायिक अदुवा खेती भइरहेको छ । गत वर्ष जिल्लामा ५० हजार ६२० मेट्रिक टन अदुवा उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।