१६ हजार घुससहित उदयपुरका वन अधिकृत तथा सूचना अधिकारी पौडेल अख्तियारकाे फन्डामा

उदयपुर, ५ भदौ । डिभिजन वन कार्यालय उदयपुरका सूचना अधिकारी भुवन पौडेल घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले सातौँ तहका वन अधिकृत पौडेललाई बिहीबार साँझ कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा डिभिजन वन कार्यालय पुगेको अख्तियारको टोलीले पौडेललाई सेवाग्राहीबाट १६ हजार २५० रुपैयाँ घुस लिँदै गरेको अवस्थामा फेला पारेको थियो । उनले एक सामुदायिक वन उपभोक्ता समूहसँग सम्बन्धित कार्य सहज बनाइदिने बहानामा उक्त रकम माग गरेको बताइएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले वन अधिकृत पौडेललाई घुस रकमसहित नियन्त्रणमा लिइएको पुष्टि गर्नुभयो । अख्तियारको टोलीले पौडेललाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इटहरी लगेको छ ।

सरकारी सेवामा रहेर भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न भएको भन्दै अख्तियारले उनीमाथि भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।