एनभिडियाका प्रमुख जेन्सेन ह्वाङद्वारा नेपालका बाढीपीडितलाई साढे १ अर्ब सहयोग
काठमाडौँ, १९ भदौ । विश्वप्रसिद्ध अमेरिकी प्रविधि कम्पनी एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङले नेपालका बाढीपीडितको सहयोगार्थ करिब साढे एक अर्ब रुपैयाँ (१० मिलियन अमेरिकी डलर) सहयोग गर्नुभएको छ । ह्वाङले उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गर्नुभएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिनुभयो ।
अर्थमन्त्री डा. वाग्लेले शुक्रबार सामाजिक सञ्जालमार्फत ह्वाङको यो ठुलो सहयोगप्रति नेपाल सरकारका तर्फबाट आभार व्यक्त गर्नुभएको छ । रसुवा र भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको खोज, उद्धार र राहतका लागि यो रकम महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।
“नेपाल सरकारका तर्फबाट एनभिडियाका संस्थापक, प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेन्सेन ह्वाङलाई बाढीपीडितका लागि १० मिलियन अमेरिकी डलर सहयोग गर्नुभएकामा हार्दिक आभार व्यक्त गर्दछु,” अर्थमन्त्री वाग्लेले भन्नुभएको छ । उहाँले ह्वाङको यो परोपकारी कदमले विपद्को समयमा अन्य व्यक्ति तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई पनि सहयोगका लागि प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
भोटेकोशीको बाढीले रसुवा र आसपासका जिल्लामा ठुलो जनधनको क्षति पुर्याएको सन्दर्भमा यो सहयोग प्राप्त भएको हो । प्राप्त रकमलाई बाढीका कारण घरबारविहीन भएकाहरूको पुनःस्थापना, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र पीडित परिवारलाई राहत वितरणमा परिचालन गरिने सरकारले जनाएको छ ।