बागमतीका मुख्यमन्त्री थापा मगरले आज विश्वासको मत लिँदै; एमालेद्वारा सांसदहरूलाई ‘ह्वीप’ जारी
काठमाडौँ, ८ भदौ । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ‘ह्वीप’ जारी गरेको छ । मुख्यमन्त्री थापा मगरले आज प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम रहेकाले एमालेले आफ्ना सबै प्रदेशसभा सदस्यहरूलाई अनिवार्य उपस्थित भई पक्षमा मतदान गर्न निर्देशन दिएको हो ।
एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक एकालाल श्रेष्ठले सोमबार एक निर्देशन जारी गर्दै मुख्यमन्त्री थापा मगरले नेपालको संविधानको धारा १८८ को उपधारा (४) बमोजिम पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न भन्नुभएको छ । । “मुख्यमन्त्रीज्यूले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव राख्ने कार्यसूची रहेकाले उक्त बैठकमा अनिवार्य सहभागी हुन र प्रस्तावको पक्षमा मतदान गर्न एमालेका सबै प्रदेशसभा सदस्यहरूलाई ह्वीप जारी गरिएको छ,” मुख्य सचेतक श्रेष्ठले बताउनुभयो ।
सत्ता समीकरणमा आएको परिवर्तन र कानुनी व्यवस्थाअनुसार मुख्यमन्त्रीले पदमा बहाल रहेको अवस्थामा कुनै पनि बेला प्रदेशसभाबाट आफ्नो बहुमत सिद्ध गर्नुपर्ने हुन्छ । एमालेको यो निर्देशनपछि मुख्यमन्त्री थापा मगरलाई बहुमत जुटाउन सहज हुने देखिएको छ ।