ललितपुरको कुम्भेश्वर मेलाको तयारी तीव्र : पोखरीको बीचमा सर्वेश्वर महादेवलाई विराजमान गराइँदै
ललितपुर, ९ भदौ । ललितपुरको ऐतिहासिक एवं धार्मिक स्थल कुम्भेश्वरमा लाग्ने प्रसिद्ध मेलाको तयारी सुरु भएको छ । मेलाको विशेष अनुष्ठानअन्तर्गत श्री सर्वेश्वर महादेवलाई मन्दिर परिसरभित्रको पोखरीको बीचमा रहेको विशेष खटमा विराजमान गराउने प्रक्रिया अघि बढाइएको हो ।
परम्पराअनुसार महादेवलाई पोखरीको बीचमा दर्शनका लागि राखिने भएकाले अहिले पोखरीको सरसफाइ गरी पानी जम्मा गर्ने कार्य थालिएको छ । यसका लागि पोखरीको पानीको निकास (ड्रेन) बन्द गरिएको मन्दिर व्यवस्थापन पक्षले जनाएको छ ।
धार्मिक आस्था, परम्परा र नेवारी संस्कृतिसँग जोडिएको कुम्भेश्वर मेला नजिकिँदै गर्दा पाटन क्षेत्रमा चहलपहल र रौनक बढेको छ । जनैपूर्णिमाको अवसरमा यहाँ विशेष मेला लाग्ने गर्दछ, जहाँ हजारौँको सङ्ख्यामा भक्तजनहरू महादेवको दर्शन र स्नानका लागि आउने गर्दछन् ।
अहिले मेलालाई व्यवस्थित र भव्य बनाउन मन्दिर परिसरको सजावट र अन्य पूर्वाधारको तयारीलाई तीव्र पारिएको छ ।
(तस्बिर सौजन्य: मनिन्द्र मान श्रेष्ठ)