मलेसियाविरुद्ध अभ्यास खेल : नेपाललाई २३३ रनको लक्ष्य

काठमाडौँ, ९ भदौ । मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीका लागि त्यहाँ पुगेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा २३३ रनको लक्ष्य पाएको छ । घरेलु टोली मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दै नेपालसामु जितका लागि मध्यम लक्ष्य प्रस्तुत गरेको हो ।

मलेसियास्थित मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको मलेसियाले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनको योगफल तयार पारेको छ । मलेसियाका लागि मुहम्मद स्याहादात रामलीले सर्वाधिक ६१ रनको अर्धशतकीय पारी खेले । अन्य ब्याटरहरू सैफुल्लाह मलिकले ४५, साइद अजिजले ४० र विरानदीप सिंहले ३९ रन जोडे ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै ४ विकेट लिए । उनले मलेसियाको ब्याटिङ लाइनअपलाई रोक्न मुख्य भूमिका निर्वाह गरे । त्यस्तै, तीव्र गतिका बलर करण केसीले २ विकेट झारे भने स्पिनरद्वय ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट हात पारे । २३३ रनको लक्ष्य पछ्याउँदै नेपाली टोली अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।