विशेष सेवा ऐन सम्बन्धी विधेयक संसदीय समितिमा, राष्ट्रियसभाद्वारा सर्वसम्मतिले स्वीकृत
काठमाडौँ, ९ भदौ । राष्ट्रियसभाको आजको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सदनले सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक समितिको छलफलमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएपछि बैठकले यसलाई स्वीकृत गरेको घोषणा गर्नुभयो ।
नेपालको विशेष सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन साविकको व्यवस्था जगाउने उद्देश्यका साथ यो विधेयक अघि बढाइएको हो । अब यो विधेयकमाथि विधायन व्यवस्थापन समितिमा विस्तृत र दफावार छलफल हुनेछ ।
राष्ट्रियसभाको आजको बैठक सम्पन्न भएको छ । सभाको अर्को बैठक आगामी भदौ १६ गते दिउँसो १ः१५ बजे बस्ने गरी तय गरिएको संसद् सचिवालयले जनाएको छ ।