नुवाकोटमा बाढी पीडितका लागि ‘होल्डिङ सेन्टर’ मार्फत राहत : ८२१ जना बेपत्ता, पुल भत्किँदा वितरणमा चुनौती
नुवाकोट, १४ भदौ । जिल्ला विपद् व्यवस्थापन समिति नुवाकोटले भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावितहरूका लागि स्थापित ‘होल्डिङ सेन्टर’ हरूमै राहत सामग्री पुर्याउन सुरु गरेको छ। बाढीका कारण विस्थापित भएकाहरूलाई एकीकृत रूपमा राहत उपलब्ध गराउन जिल्लाभर १३ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ।
समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार विभिन्न दाता र इच्छुक व्यक्तिहरूबाट प्राप्त राहत सामग्रीलाई एकद्वार प्रणालीमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको छ। “हामीले विदुर नगरपालिकामा ९, किस्पाङ गाउँपालिकामा २ र सूर्यगढी तथा बेलकोटगढी नगरपालिकामा १–१ वटा होल्डिङ सेन्टर स्थापना गरेका छौँ,” प्रजिअ रेग्मीले भन्नुभयो, “सवारी पुग्ने ठाउँमा गाडी र नपुग्ने ठाउँमा हेलिकप्टरमार्फत सामग्री पठाइरहेका छौँ।”
यद्यपि, केही दाताहरूले पहुँच पुग्ने स्थानमा सिधै राहत बाँड्दा सबै सेन्टरमा समानुपातिक वितरण हुन नसकेको गुनासो सुनिएको छ। हाल राहतमा खाद्यान्नको उपलब्धता राम्रो भए पनि लत्ताकपडाको भने अभाव देखिएको छ।
बाढीले त्रिशूली, तादी र कोल्पुखोलाका पुलहरू बगाएपछि नदी पारिका क्षेत्रमा राहत पुर्याउन निकै कठिन भएको छ। विदुर नगरपालिकाका वडा नं. १, ३, ६, ७, ९ र १२ का कतिपय बस्तीहरू सदरमुकामसँग सम्पर्कविच्छेद भएका छन्। केही संस्थाहरूले ‘ड्रोन’ मार्फत राहत पुर्याउने प्रयास गरिरहेका छन् भने बेलकोटगढी–७ को होल्डिङ सेन्टरमा हेलिकप्टरको सहारा लिनुपर्ने बाध्यता छ।
पुल भत्किएकै कारण विद्यालय गएका बालबालिकाहरू घर फर्कन नसक्दा विगत चार दिनदेखि धेरै परिवारमा विछोडको स्थिति सिर्जना भएको छ।
बाढीका कारण नुवाकोटमा मानवीय क्षतिको अवस्था भयावह देखिएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख बीपीन रेग्मीका अनुसार शनिबारसम्म ८२१ जना व्यक्ति बाढीमा परी बेपत्ता भएको निवेदन प्राप्त भएको छ।
यसैबीच, पहिचान नभएका शवहरूको व्यवस्थापनका लागि बसेको सर्वपक्षीय बैठकमा प्रजिअ रेग्मीले करिब ३०० हाराहारीमा शवहरूको व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो। तर, आइतबार बिहान पुनः त्रिशूलीमा जलसतह बढेकाले नदी किनारमा फेला परेका शव सङ्कलन र व्यवस्थापनमा थप चुनौती थपिएको छ।
होल्डिङ सेन्टरहरूमा हाल आश्रय लिइरहेकाहरूको स्वास्थ्य जाँच र मानसिक परामर्शका लागि त्रिशूली अस्पतालसँगको समन्वयमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो।