कृष्णभीरको सडक अवरुद्ध भएपछि राजधानी बाहिर ग्यासको ‘बोटलिङ’, वैकल्पिक मार्गबाट ढुवानी सुरु

चितवन, १६ भदौ । पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यका र आसपासका जिल्लामा खाना पकाउने ग्यास (एलपी ग्यास) को अभाव हुन नदिन वैकल्पिक व्यवस्था गरिएको छ । ग्यास बोकेका ठुला बुलेटहरू सडक अवरोधका कारण राजधानी छिर्न नसकेपछि नेपाल आयल निगमले उद्योगीहरूलाई उपत्यका बाहिरै ग्यास ‘बोटलिङ’ (सिलिन्डरमा भर्ने) गर्न अनुमति दिएको हो ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार उपत्यका र छिमेकी जिल्लामा सञ्चालित १६ वटा ग्यास उद्योगले तराईका जिल्लाका उद्योगहरूसँग समन्वय गरी ग्यास भर्ने कार्य सुरु गरेका छन् । विशेष गरी बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा रहेका उद्योगहरूमा ग्यास भरेर साना गाडीमार्फत काठमाडौँ पठाइने व्यवस्था मिलाइएको छ ।

काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा देशभरको कुल खपतको ४० प्रतिशतभन्दा बढी ग्यास आवश्यक पर्दछ । सङ्घका सदस्य एवं बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले भन्नुभयो, “बुलेटहरू जान नसकेपछि हामीले तराईका उद्योगहरूमा ग्यास भरेर त्रिभुवन राजपथ (बाइरोड) लगायतका वैकल्पिक मार्गबाट काठमाडौँ लैजान सुरु गरेका छौँ ।”

हाल श्री ग्यासले बाबा ग्यासको प्लान्टमा, श्रीकृष्णले साई बाबामा, श्रीरामले जानकीमा र नेपाल ग्यासले नेपाल गण्डकीमा ग्यास भर्न सुरु गरिसकेका छन् । त्यस्तै, एभरेस्ट र सुगम ग्यासले सहारा उद्योगसँग समन्वय गरी उत्पादन थालेका छन् । अन्य उद्योगहरूले पनि छिमेकी उद्योगहरूसँग सहकार्य गरी आपूर्ति प्रणालीलाई सहज बनाइरहेका छन् ।

ग्यास व्यवसायीहरूले उपत्यकामा ग्यासको अभाव नहुनेमा ढुक्क रहन उपभोक्ताहरूलाई आग्रह गरेका छन् । “वैकल्पिक मार्गबाट आपूर्ति सुरु भइसकेकाले बजारमा ग्यासको कमी हुँदैन,” कालाखेतीले भन्नुभयो, “त्यसैले उपभोक्ताहरूले आत्तिनुपर्ने अवस्था छैन र जगेडा सिलिन्डर नराख्न हाम्रो अनुरोध छ ।”

भोटेकोशीको बाढी र नदी कटानका कारण कृष्णभीरमा सडक भासिएपछि राजधानीको प्रमुख आपूर्ति मार्ग ठप्प भएको छ, जसले गर्दा अत्यावश्यक वस्तुको ढुवानीमा कठिनाइ देखिएको छ ।