माइनस १७ डिग्रीको तापक्रममा पुरिएका ११ महिनाका बालक २४ घण्टापछि जीवितै उद्धार
मस्को । रुसको माग्नितोगोस्र्क शहरमा सोमबार ग्यास विस्फोटका कारण एक अपार्टमेन्ट ढलेकोमा एक जना ११ महिनाका बालक भग्नाबशेषभित्र भोलिपल्ट २४ घण्टासम्म जीवित अवस्थामा नै भेटिएका छन् । त्यहाँको तापक्रम माइनस १७ डिग्री भएकोले जाडोका कारण उद्धार कार्यमा खटिन सुरक्षाकर्मीलाई नै अप्ठेरो परेको बेलामा सानो बच्चा भने जीवितै भेटिएकोले त्यसले निकै चर्चा पाएको छ । उद्धार दलले भग्नावशेषभित्र रोएको आवाज सुनेपछि बच्चालाई सुरक्षित निकाल्न सफलता पाएका थिए ।
सो बालकको अवस्था भने निकै गम्भीर रहेको र उपचारका लागि उनलाई राजधानी मस्को पठाईएको सुरक्षाकर्मीले बताएका छन् । बालकको टाउकोमा चोट लागेको छ भने हात र खुट्टापनि भाँचिएका छन् । बच्चाकी आमा भने सुरक्षित रहेको रुसको आन्तरिक मामिला सम्बन्धी मन्त्रालयले जनाएको छ । सो दुर्घटनामा परेर मृत्यु हुने ८ जनाको शव अहिले सम्म निकालिएको र ३६ जना मानिस अझैपनि बेपत्ता रहेको प्रहरीले बुधबार जनाएको छ । सोमबार राति अबेर भएको ग्याँस विस्फोटबाट सो अपार्टमेन्ट क्षतिग्रस्त भएको छ । अपार्टमेन्टमा जम्मा १२० जना मानिस बस्दै आएका थिए ।