एकैदिन एक हजार चार सय सात चालकमाथि कारबाही

काठमाडाैं, ३० असाेज । शनिबार ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार चार सय सात चालकलाई प्रहरीले कारबाही गरेको छ ।

प्रहरीले नम्बरप्लेट स्पष्ट नराख्ने चार सय ४६ र दिउँसै मापसे गरी सवारीसाधन चलाउने चार चालकलाई एकैदिन कारबाही गरेकाे हाे ।

काठमाडौँ उपत्यकामा शनिबार गरिएको विशेष सवारी जाँच अभियानका क्रममा तीव्रगतिमा सवारी चलाउने एक सय ५५, अनावश्यक हर्न बजाउने पाँच र ठूलो आवाज निकाल्ने दुई मोटरसाइकलका चालकलाई कारबाहीमा गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने सात सय ८८ चालक पनि कारबाहीमा परेकाे प्रहरीले जनाएकाे छ । स्पष्टरूपमा नम्बर नदेखिने र मापदण्डअनुसार नम्बरप्लेट नराख्ने सवारीसाधनको जाँच अभियानलाई काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही अभियान थालेको छ ।

नम्बरप्लेट स्पष्ट नराखी सवारीसाधन चलाउँदा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसारको कसूर हुनुका साथै सवारी दुर्घटनाको अनुसन्धानमा समस्या हुने प्रहरीले जनाएको छ ।