विद्यार्थी संगठनमा हराउँदै शैक्षिक एजेण्डा, मौलाउँदै आर्थिक ‘बार्गेनिङ’

काठमाडौं, २९ मंसिर । कुनै समय विद्यार्थी आन्दोलन शैक्षिक मुद्धामा केन्द्रित हुन्थ्यो । राजनीतिक दलहरुले गरेका कमजोरीमा खवरदारी गर्न विद्यार्थी संगठनहरु एकजुट भएर सडकमा उत्रिन्थे । पेट्रोलीय पदार्थको मूल्य वृद्धि हुँदा होस् या विद्यार्थीलाई सहुलियत भाडामा यात्रा गराउने सन्दर्भमा नै किन नहोस् विद्यार्थी आन्दोलनको अतुलनीय भूमिका छ । तर, पछिल्लो समय विद्यार्थी आन्दोलन कमजोर बन्दै गएको छ ।

विद्यार्थी संगठनका नेताहरु पनि विभिन्न विवादमा तानिने गरेका छन् । शैक्षिक आन्दोलन भन्दा पनि पछिल्लो समय नेतृत्व लिने र आर्थिक ‘बार्गेनिङ’ गर्ने शैली वृद्धि भएको गुनासोहरु समेत आउने गरेका छन् । अहिले आर्थिका बार्गेनिङकै कारण नेकपा माओवादी केन्द्र निकट भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारी भित्र विवाद चुलिएको छ । केही दिन अघि मात्रै उपाध्यक्ष इन्द्र भुसालले सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष पञ्चा सिंहले सीटीईभीटी र पोखरा विश्वविद्यालयलगायत ठाउँमा संगठनको नाममा आधिकारिक रुपमा आर्थिक ‘बार्गेनिङ’ गरिरहेको जानकारी प्राप्त भएको थियो भन्दै संगठन भित्रको विवादलाई बाहिर ल्याउनु भएको थियो । सामाजिक सञ्जालमार्फत नै उहाँले अध्यक्ष सिंहप्रति लक्षित गर्दे लेख्नु भएको थियो ।

‘आर्थिक चलखेलमार्फत् गर्न खोजेको सम्बद्धताको सन्दर्भमा हामी र हाम्रो संगठन चुप लागेर नबस्ने कुरा सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छु । साथै यस्ता किसिमका आर्थिक गतिविधिबाट सचेत रहन आग्रह गर्दछु ।’

त्यसो त त्यसैबेला अर्का उपाध्यक्ष नारायण खनालले पनि सीटीईभीटी र पोखरा विश्वविद्यालयलगायत ठाउँमा संगठनको नाममा आधिकारिक रुपमा आर्थिक ‘बार्गेनिङ’ गरिरहेको जानकारी प्राप्त भएको भन्दै संगठनलाई बदनाम नगर्न पटक–पटक गराएको ध्यानाकर्षण पनि बेकार भएपछि बाध्य भएर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको उल्लेख गर्नुभएको थियो ।

अहिले त्यहि विषयलाई लिएर विवादले थप उग्र रुप लिएको छ । अध्यक्ष सिंहले सिटिइभिटी र पोखरा विश्वविद्यालयसँग आर्थिक ‘बार्गेनिङ’ गरेको भन्ने विषयमा
केन्द्रीय कोषाध्यक्ष र केन्द्रीय लेखा आयोग प्रमुखले संयुक्त विज्ञप्ति निकालेर केन्द्रको निर्देशनमा आर्थिक चलखेल भएको बुझिएको दाबी गरेका छन् । उनीहरुले त्यस्तो काममा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।

अहिले त्यहि विषयलाई लिएर विवादले थप उग्र रुप लिएको छ । अध्यक्ष सिंहले सिटिइभिटी र पोखरा विश्वविद्यालयसँग आर्थिक ‘बार्गेनिङ’ गरेको भन्ने विषयमा केन्द्रीय कोषाध्यक्ष र केन्द्रीय लेखा आयोग प्रमुखले संयुक्त विज्ञप्ति निकालेर केन्द्रको निर्देशनमा आर्थिक चलखेल भएको बुझिएको दाबी गरेका छन् । उनीहरुले त्यस्तो काममा संलग्नलाई कारबाही गर्न माग गरेका छन्

‘कुनै पनि कमिटीमा छलफल नगरी शैक्षिक मुद्दाहरुको तय, मुद्दाहरुको उठान प्रक्रिया र सम्बिन्धित निकायमा प्रारम्भिक रुपमा बुझ्दा केन्द्रको निर्देशनमा चलखेल भएकै बुझिन्छ,’ उनीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । संगठनका जिम्मेवार नेताहरुबाट सिटिइभिटी, पोखरा विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयमा सम्बन्धन र कार्यक्रम विस्तारलाई लिएर आन्दोलनको नाममा आर्थिक लेनदेन गर्न बार्गेनिङ गरेको विषयले संगठनको आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न खडा भएको पनि उनीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उपाध्यक्षहरु इन्द्र भुसाल, मिलन एमसी, लक्ष्मी जोशी, राजकुमार याक्सो, नारायण खनाल, डा. अच्युत भट्ट र गजेन्द्र देवसहितका सात जना उपाध्यक्षहरुले समेत संगठन भित्र देखिएको समस्या समाधानका लागि तत्काल पदाधिकारी बैठक बसाल्न माग गर्दै पार्टी कार्यालय र अध्यक्ष सिंहलाई संयुक्त रुपमा निवेदन दिएका छन् ।
पार्टी अध्यक्ष प्रचण्डको निर्देशनमा महाधिवेशनले सिंहलाई अध्यक्ष बनाएपछि असन्तुष्ट रहँदै आएको अखिल क्रान्तिकारीको असन्तुष्ट समूहको नेतृत्वमा समानान्तर कमिटी चलाउँदै आउनु भएका पवन कार्कीको नेतृत्वले पनि सिंहको पछिल्लो गतिविधिको विरोध गरेको छ ।

असन्तुष्ट समूहका संयोजक कार्कीले जारी गरेको विज्ञप्तिमा अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनयताको विवाद समयमै समाधान हुन नसक्दा आफैंमा गन्जागोलभित्र रुमलिएको उल्लेख छ ।

असन्तुष्ट समूहका संयोजक कार्कीले जारी गरेको विज्ञप्तिमा अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनयताको विवाद समयमै समाधान हुन नसक्दा आफैंमा गन्जागोलभित्र रुमलिएको उल्लेख छ ।

‘पञ्चा सिंहले नेतृत्व गरेको अवैध संगठनले अखिल क्रान्तिकारीका नाममा संगठनलाई अस्तव्यस्त बनाएर शैक्षिक माफियासँग मिलेमतो गरी विश्वविद्यालयका पदाधिकारीहरुसँग नयाँ कार्यक्रमहरुको सम्बन्धन र कार्यक्रम विस्तारका नाममा आर्थिक भागबन्डा गरेको कुराप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीले वास्तविक विद्यार्थीहरुको अखिल क्रान्तिकारी निर्माण गर्ने संकल्पसहित पञ्चा सिंह नेतृत्वको केन्द्रीय समितिलाई अवैध घोषणा गरी गत असार १८ गते क्रान्तिकारी संगठनको पुनर्गठन गरेर अगाडि बढेको यहाँहरु सबैलाई अवगत नै छ ।’

उहाँले विद्यार्थी आन्दोलनलाई समग्र शैक्षिक क्षेत्रको रुपान्तरणका लागि केन्द्रित गरी निष्कर्षविहीन सम्झौताबाट मुक्त गर्ने अठोटका साथ अगाडि बढेको उल्लेख गर्नुभएको छ ।