पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा, प्रधानमन्त्रीले गरे उद्घाटन

कास्की, १७ पुस । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आएको छ। अंग्रेजी नयाँ वर्षको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थल उद्घाटन गरेका हुन्।

उद्घाटनमा पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको बुद्ध एयरको जहाजलाई पानीको फोहोराले स्वागत गरिएको थियो।

जहाजबाट आएका प्रधानमन्त्री प्रचण्डलगायतलाई रातो कार्पेट विच्छाएर फूलमाला र पञ्चकन्याले स्वागत गरेका थिए ।

अन्तर्राष्ट्रिय उडानको प्रक्रिया पूरा भइनसकेकोले आइतबार आन्तरिक उडान मात्र हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएकाे छ।

चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण तथा अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो ।

अन्तर्राष्ट्रिय उडान सुरु भएपनि पोखरास्थित पुरानो विमानस्थलमा पनि उडान नरोकिने बताइएको छ । ठूला जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे पनि साना जहाज पुरानो विमानस्थलमा अवतरण गर्न पाउँनेछन्।

मुस्ताङको जोमसोम र मनाङको हुम्दे सम्म पुरानो विमानस्थलबाटै उडान हुनेछ ।