राप्रपा अध्यक्ष लिङ्देनकै नेतृत्वमा सरकारमा जाने, उपप्रधानसहित ४ मन्त्रालयमा दाबी

काठमाडौं, २९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ ।

राप्रपाले उपप्रधानमन्त्रीसहित ४ मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरेको छ । सत्ता साझेदार दलका शीर्ष नेताहरूका बैठकमा राप्रपाले उपप्रधानमन्त्रीसहित ४ मन्त्रालयमा दाबी राख्दै आएको छ।

केही दिनभित्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दैछन् ।
राप्रपाका एक पदाधिकाका अनुसार अध्यक्ष लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री हुने सम्भावना बलियो छ।

‘उपप्रधानसहित रोजेको मन्त्रालय दिन सत्ता साझेदार दल सहमत छन्, अध्यक्षज्यूले ऊर्जामन्त्रीमा चासो देखाउनुभएको छ,’ ती पदाधिकारी भन्छन्, ‘हामीले ४ मन्त्रालय दाबी गरेका छौं।’

प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन्। प्रदेशहरूमा पनि राप्रपाका सांसद छन्। सत्ता साझेदार अन्य दल भने राप्रपालाई ३ मन्त्रालय दिन तयार देखिन्छन्। ‘हामीले बागमतीको मुख्यमन्त्री छाडिएको हो, त्यसकारण केन्द्रमा उपप्रधानसहित ४ मन्त्रालय पाउनुपर्छ,’ ती पदाधिकारीले भने।

राप्रपाले बागमतीको सभामुख पाउने सत्ता साझेदार दलभित्र सहमति छ। त्यसका लागि राप्रपाले उम्मेदवारीसमेत दिइसकेको छ।