आईएमएस ग्रुपले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा सुरक्षा सुनिश्चितता गर्दै
काठमाडौ., १९ माघ । आईएमएस ग्रुपले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा सुरक्षा सुनिश्चितता गर्ने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिनअघि आइएमएस एयरपोर्ट सर्भिसेज प्रालिले व्यवस्थापन गरेको आगमन कक्षको ट्राभलेटरसँग सम्बन्धित सार्वजनिक भएको घटना, जनगुनासो तथा समस्याबारे आइएमएस ग्रुप व्यवस्थापनको गम्भीर ध्यानाकर्षण भएको हो ।
समस्याको समाधान तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका यात्रु बाहिर निस्किने मार्ग, प्रतिक्षा कक्ष तथा पार्किङ क्षेत्रलाई सहज, सुरक्षित बनाउन आइएमएस एयरपोर्ट सर्भिसेज पूर्णरुपमा प्रतिबद्ध रहेको बताएको छ ।
‘हामी सम्पूर्ण यात्रुहरुको सहज र सुरक्षित यात्रालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ भन्ने सम्पूर्णलाई विश्वास दिलाउन चाहन्छौँ ’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ आगमन कक्ष निर्माण गर्दा हाम्रो प्राथमिकता र ध्यान सम्पूर्ण नेपाली तथा विदेशी यात्रुहरुका लागि अन्तर्राष्ट्रियस्तरको सुविधा र पर्याप्त (स्पेसियस) पार्किङ गर्ने स्थानको व्यवस्थापन रहेको जानकारी गराउन चाहन्छौँ ’ । आईएमएस ग्रुपले विज्ञप्तीमा भनेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट यात्रुहरु बाहिर निस्किने मार्गमा एलिभेटरमा बढी भीडभाड हुन थालेपछि ट्राभलेटर दोस्रो चरणमा निर्माण गरिएको थियो ।
विमानस्थलको भन्सार क्षेत्र कटेपछि यात्रुहरुका लागि सहज आगमन, लथालिङ्ग पार्किङ समस्याको उचित व्यवस्थापनका लागि यात्रु मार्ग, यात्रु प्रतिक्षा कक्ष, पार्किङ क्षेत्रको निर्माण आयोजना नेपाल सरकारको टेन्डर आह्वानपछि निर्माण, व्यवस्थापन, सन्चालन र हस्तान्तरण (बुट) मोडलअनुसार ३० वर्षे लिजसहित आइएमएस एयरपोर्ट सर्भिसेज प्रालिको पूर्ण लगानीमा नेपालकै सबैभन्दा ठूला निर्माण कम्पनीमध्येको एक रसुवा कन्स्ट्रक्सनसँगको साझेदारीमा निर्माण भएको हो ।
यात्रुहरुले आगमन कक्षबाट बाहिर निस्कँदा प्रयोग गर्ने ट्रलीहरुको व्यवस्थापन र ह्विल लकिङ सिस्टम भएका नयाँ ट्रलीहरु खरिद गरेर उपलब्ध गराउँदै आएको छ ।
त्यसैगरी,आगमन कक्षमा जतिसक्दो छिटो १० यात्रु क्षमताको नयाँ एलिभेटर थपिने बताइएको छ । जसले आगमन कक्षमा हुने भीडभाड व्यवस्थापनमा सहज हुने बिश्वास गरिएको छ ।