एमालेले ‘मिसन ग्रासरुट’ अभियान सन्चालन गर्ने

काठमाडौं, २६ माघ । नेकपा (एमाले) को १५ औँ सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएपछि खाली रहेको प्रदेश १ को इन्चार्जमा राजेन्द्र गौतमलाई चयन गरेको छ ।

त्यस्तैगरी घनश्याम भुसालले एमाले छाडेपछि खाली रहेको अर्थ तथा योजना आयोगको प्रमुखमा स्थायी कमिटी विन्दा पाण्डेलाई चयन गरेको छ । बैठकले बालकृष्ण ढुंगेलको निधनका कारण रिक्त भएको अपांगता विभाग प्रमुखको इन्चार्जमा पोलिटब्युरो सदस्य पार्वत गुरुङ र रामचन्द्र मण्डल मधेश प्रदेशको सभामुख भएका कारण रिक्त रहेको धनुषा इन्चार्जमा शीला यादवलाई जिम्मेवारी दिएको छ ।

बैठकपछि उपमहासचिव प्रदिप ज्ञवालीले दिएको जानकारी अनुसार एमालेले पार्टीको जगदेखि नै कार्यकर्ता परिचालन गर्न ‘मिसन ग्रासरुट’ सन्चालन गर्ने भएको छ । यो अभियान फागुन र चैत २ महिनासम्म यो अभियान सन्चालन गर्ने छ ।

केन्द्रीय सचिवालयको विहीवार बसेको बैठकले विभिन्न ११ ओटा कार्यदेश तोकेर सबै केन्द्रीय सदस्यहरुलाई गाउँ तहसम्म पठाउँने भएको छ । यसक्रममा सदस्यता नविकरण, वितरण,पूराना नेता कार्यकर्ताको सम्मान,जनप्रतिनिधि र पार्टी कमिटीबीच अन्तरसम्बन्ध लगायतका काम हुने उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । बैठकले गठबन्धन टिकाइराख्ने संकल्प गरेको पनि गरेको छ ।