प्रहरीद्वारा लोत्से मलमा लुटपाट गर्ने चार जना पक्राउ गरी सार्वजनिक

काठमाडाैं, ३ फागुन । काठमाडौं महानगरपालिका–२६ गोंगबुको नयाँ बसपार्कस्थित लोत्से मलमा प्रवेश गरी विभिन्न पसलमा लुटपाट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउपछि आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलन गरी उक्त घटनामा दैलेखका चिरन रेग्मी, काठमाडौंको सामाखुसी बस्ने नविन खड्गी, रुपन्देहीका सुजन खत्री र झापाका प्रदीप बस्नेत रहेका जानकारी गराएको छ ।

अन्य संलग्नको खोजी कार्य जारी रहेको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । उक्त मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्राली, डायमण्ड मोबाइल प्राली तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालीमा तोडफोड गरी उक्त पसलभित्र रहेका मोबाइल, चार्जर, रिचार्ज कार्ड, एयरफोनलगायतका सामान चोरी गरी लगेको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले जरिवाना बढाएकामा घटाउनुपर्ने, माइक्रोबस व्यवस्थापन लगायतको माग राखी विभिन्न यातायात मजदुर सङ्गठनले गरेको आन्दोलनका क्रममा यही फागुन १ गते त्यहाँ तोडफोड पछि लुटपाट भएको थियो ।

उक्त घटना भएको थाहा पाएपछि तत्कालै प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा पुगी घटनास्थल मुचुल्कालगायतका कार्य सम्पन्न गरी घटनामा संलग्न व्यक्तिको खोजतलास गरी अनुसन्धान गर्दा उनीहरुलाई पक्राउ गरिएको परिसरले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

उनीहरुबाट चोरिएका केही सामग्री बरामद गरिएको जानकारी दिँदै प्रहरीले मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद २० अन्तर्गत चोरी तथा डाँकासम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।