डिष्टिङ्सन’ ल्याउनका लागि हामी चुनावी प्रचारमा हिडेका छौँ- विद्यासुन्दर शाक्य

विद्यासुन्दर शाक्य, नेकपा(एमाले)का तर्फबाट मेयरका उम्मेदवार
एमालेले काठमाडौँमा मेयर जित्ने आधार के–के हुन् ?
नेकपा (एमाले)को संगठन तल्लो तहसम्म बलियो छ । काठमाडौं महानगरपालिकाका सन्दर्भमा सबै जनताको घर–दैलोमा पुगेको पार्टी हो एमाले । अहिले एमाले महानगरवासीका लागि स्पष्ट दृष्टिकोण, नीति, विचार, सिद्धान्त र कार्यक्रमले मात्र होइन, आत्मीय रूपले पनि नजिक छ । त्यसैले महानगरवासीले मेयरमा मलाई देख्न चाहनुभएको छ । यो मेरो जितको बलियो आधार हो ।
नेकपा एमालेले लिएको राष्ट्रियताको अडान, सामाजिक न्यायका क्षेत्रमा एमालेको गरेको कामका साथै नीति, विचार, सिद्धान्त र महानगर विकासका लागि अघि सारेका कार्यक्रम अन्य सबै राजनीतिक दलहरूको भन्दा राम्रो छ । समृद्ध नेपाल र स्वच्छ महानगर बनाउने योजनासहित हामी चुनावी मैदानमा छौं । हामी बलियो राष्ट्रियताको पक्षधर हौं । राष्ट्रियता कमजोर बनाउनेलाई नेपाली जनताले मतदान गर्नु हुँदैन । यो जितको अर्को आधार हो ।
म दुई पटक यही महानगरका जनताबाट चुनिएको जनप्रतिनिधि हुँ । काठमाडौंको वडा नम्बर २१ बाट निर्वाचन भएको व्यक्ति हुँ । म निर्वा्चित भएपछि जनताको विश्वासलाई मर्न दिइनँ । मैले दुई दशकदेखि नेकपा (एमाले) को जिल्ला कमिटीमा विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएको छु । अहिले पनि म एमाले काठमाडौं जिल्ला कमिटीको सचिवको हैसियतमा छु ।
मैले अघि पनि भने– काठमाडौँ एमालेको राम्रो पकड भएको जिल्ला हो । त्यसैले एमालेसँग अन्य दलले प्रतिष्पर्धा गर्न सक्ने कुनै आधार नै भेटिदैँन । ०५४ सालको निर्वाचनलाई नै हेर्ने हो भने पनि काठमाडौँमा एमालेले मेयर, उपमेयरसहित दुईतिहाई बढी सीट जितेको थियो । त्यतिबेला नै एमालेले काठमाडौँमा सूर्यको झण्डा फहराउन सफल भएको थियो भने अहिले त अझ पहिला भन्दा एमाले शक्तिशाली बनेको छ । त्यति मात्र होइन देशैभरी अहिले एमालेले लिएको नीति, विचार र सिद्धान्तका कारण एमालेको प्रभाव देशव्यापि रुपमा पनि निकै बलियो छ । महानगरपालिकाकै सन्दर्भमा कुरा गर्ने होभन पनि एमालेको संगठन निकै बलियो छ । यी सबै कारणले पनि एमालेले यो पटक काठमाडौमा विजयी हाँसिल गर्न सक्छ भन्ने आधार प्रसस्त छन् ।
तपाईँ महानगरपालिकामा अनुभव भएको व्यक्ति पनि हो भन्ने छ नि ?
हो, मैले एमालेका तर्फबाट महानगर राजनीतिक संयन्त्रको प्रतिनिधिका रूपमा लामो समयदेखि काम गर्दै आएको छु । यसले मलाई महानगर बुझ्न निकै सजिलो भएको छ । महानगरको विकास कसरी गर्ने, महानगर विकासमा के कुराको कमी छ भन्ने मलाई राम्रोसँग थाहा छ । कांग्रेस–माओवादी गठबन्धन सरकारले नौ महिना सत्ता चलाउँदा गरेका एकपछि अर्को कमजोरीले जनता दिक्क छन् । अहिलेसम्म यो सरकारले जनतालाई उत्साहित हुने काम केही गर्न सकेको छैन ।
हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला मृत अवस्थामा रहेका सपनालाई ब्युँझाउने काम भएको थियो । नेपाली जनताले देखेको समृद्धिको सपना पूरा गर्न महानगरपालिकामा एमालेबाहेकको नेतृत्वले सक्दैन ।
राप्रपासँगको तालमेलले एमाले काठमाडौँमा कमजोर छ भन्ने सन्देश दिएको छ भन्ने पनि आरोप छ नि ?
अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल भएको छ । यसबाट हामी थप बलियो भएका छांै । हामीलाई फष्ट डिविजन ल्याउनका लागि घरमै आनन्दले सुस्ता पनि हुन्थ्यो । तर, ‘डिष्टिङ्सन’ ल्याउनका लागि हामीले चुनावी प्रचारमा हिड्नु परेको हो । हामी एक्लै लड्दा पनि जित्ने अवस्थामा थियौं । राप्रपाले हाम्रो पार्टीका सबै एजेन्डामा साथ दिँदै आयो । त्यसकारण केन्द्रीय स्तरमै तालमेल भएको हो । हाम्रो तालमेललाई अप्राकृतिक भन्ने आरोप पनि लाग्ने गरेको छ । तर, यो अप्राकृतिक तालमेल होइन । हाम्रा एजेन्डा मिलेकाले तालमेल गरिएको हो । हामी जित्छौं पनि र जिताउँछौं पनि । यसमा कुनै शंका छैन ।
काठमाडौँलाई समृद्ध र जीवन्त सहर बनाउने पनि केही योजना होलान नि ?
निश्चय पनि मसँग काठमाडौं सहरलाई समृद्ध र जीवन्त सहरका रूपमा विकास गर्ने योजना छ । देशको राजधानीसमेत भएकाले काठमाडौंलाई विश्वको आकर्षणको केन्द्र बिन्दुका रूपमा यसलाई विकास गर्न जरुरी छ । म मेयर भएपछि आर्थिक तथा सामाजिक न्यायमा आधारित नमुना सहर बनाउनेछु । काठमाडौं सहरलाई सहयोग गर्ने वा लगानी गर्नेलाई आकर्षित तथा व्यापारमैत्री वातावरण बनाउनेछ । धूवाँ–धूलो नियन्त्रण गर्नेछु । अस्तव्यस्त सहरलाई व्यवस्थित गर्न नयाँ प्रविधियुक्त यातायात पद्धति स्थापना गर्न जोड दिनेछु । महानगरमा केबलकार, मोनोरेल तथा अत्याधुनिक बस सेवा, इलेक्ट्रिकल तथा स्मार्ट गाडी सञ्चालनमा ल्याउनेछु । महागनरलाई ‘स्मार्ट सिटी’का रूपमा विकास गरिनेछ । महानगरको झल्को दिने गरी ‘पब्लिक ट्रान्सपोर्टेसन’ सेवा कम्तीमा दिनको २० घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाउनेछु । त्यसैगरी महानगरभित्रका सबै टोल–टोलमा पुग्न कुनै पनि स्थानबाट ५ मिनेटभन्दा बढी हिँड्नु नपर्ने गरी ‘पब्लिक ट्रान्सपोर्ट’को व्यवस्था गर्नेछु । त्यसैगरी साइकल लेनको निर्माण गर्नेछु ।
साइकल चढ्नेलाई विशेष सुविधा उपलब्ध गराउनेछु । ठाउँठाउँमा साइकल पार्किङ स्टेसन निर्माण गर्नेछु । काठमाडौं महानगरभित्र ‘स्मार्ट पार्किड सिस्टम’को व्यवस्था गर्नेछु । विभिन्न ठाउँमा स्वचालित ‘भर्टिकल कार पार्किङ र अन्डरग्राउन्ड पार्किङ सिस्टम’को व्यवस्था गर्ने योजना छ । यसका लागि मेरो जितपछि नै डीपीआर तयार पारी दुई वर्ष्भित्र मेट्रो रेल र मोनोरेल सञ्चालन हुन्छ । काठमाडौंको खानेपानी समस्या समाधान गर्न बृहत्तर योजना बनाएर अघि बढ्नेछु ।
एमाले एक भएर चुनावको तयारीमा जुटेको हो ?
उम्मेदवार चयन हुनुभन्दा अघिसम्म मेयरका प्रतिष्पर्धी धेरै हुनुहुन्थ्यो । उहाँहरुले लामो समयपछि हुन लागेको निर्वाचनमा उम्मेदवार बन्ने दाबा गर्नु अस्वाभाविक होइन । तर, जब उम्मेदवार चयन भयो । त्यसपछि एमाले भित्रको आन्तरिक कलह समाप्त भएको छ । अहिले पार्टीमा गुट–उपगुट भन्ने कुरा छैन । हाम्रो पार्टी एमालेभित्र तीन–तीन जना त पूर्वप्रधानमन्त्री हुनुहुन्छ । नेपालमा रहेका कुनै पनि राजनीतिक दलसँग अहिले तीन–तीन जना पूर्वप्रधानमन्त्री छैनन् । यो एमालेको ठूलो सम्पत्ति हो । देशलाई कसरी सम्वृद्ध बनाउन सकिन्छ भन्ने भिजन भएका नेताहरुको ठूलो पङ्क्ति एमाले भित्र छ । पार्टीको विभिन्न जिम्मेवारीमा रहेर निकै कुसलतापूर्व जिम्मेवारी निर्वाह गर्नुभएका नेताहरुको पनि ठूलो पङ्क्ति एमालेमा छ । त्यसले पनि एमालेको जितको आधार तयार भएको छ ।
पार्टीमा लामो समय योगदान गर्नुभएका जीवनराम श्रेष्ठ, पूर्व मेयर केशव स्थापित, उपमेयर विदुर मैनाली, लगायत धेरै हुनुहुन्थो । उहाँहरुको अनुभव, उहाँहरुको सहयोग पनि एमालेलाई विजयी गराउनका लागि धेरै महत्वपूर्ण हुनेछ । म उहाँहरुसँग पनि सहकार्य गरेर अघि बढ्ने छु । व्यक्ति आफैँ पार्टी होइन । पार्टीले नै व्यक्तिलाई नेता बनाएको हुन्छ । त्यसैले हामी व्यक्ति भन्दा पनि पार्टीलाई केन्द्रमा राखेर पार्टीका नीति, विचार र सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढ्ने छौँ ।