नेप्से परिसूचक १७.७० अंक बढ्याे

काठमाडाैं, १३ चैत्र । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक १७.७० अंक बढेर १९०६.०० विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.०४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२८ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन २६१ स्टकको ३६ हजार ९८० पटकको कारोबारमा १ अर्ब ३८ करोड २७ लाख रुपैयाँ बराबरको ४३ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सुपरमाई हाइड्रोपावर, एशियन हाइड्रोपावर र कालिञ्चोक दर्शनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन अजोड इन्स्योरेन्स्को शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

लाभांश संशोधन गरेको नेशनल माइक्रोफाइनान्सको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै शेयरमूल्य घट्न पुगेको हो।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन करिब ६ करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।