मोरङबाट २३४ किलो गाँजासहित ५ जना प्रहरी नियन्त्रणमा
मोरङ, १५ चैत । मोरङको रंगेलीबाट २३४ केजी गाँजासहित प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएका छन् ।
पक्राउ पर्नेहरूमा चार जना भारतीय छन् भने एक जना नेपाली रहेका छन् । मंगलबार प्रहरी टोलीले रङ्गेली नगरपालिका-२ चेका खोलास्थित गहुँबारीबाट दुई भारतीय नागरिकलाई १५० किलो गाँजासहित पक्राउ गरेको थियो ।
चेकजाँचका क्रममा भारत अररियाका २९ वर्षीय दिपक झा र ३० वर्षीय सिन्टुकध कुमार सिंह १५० किलो गाँजासहित पक्राउ परेको मोरङ प्रहरीले बताएका छन् ।
पक्राउ परेकाहरुले रङ्गेली नगरपालिका-३ रन्जनीस्थित वीरबहादुर कार्कीको घरमा गाँजा ल्याएको बताएपछि प्रहरीले उनको घरमा खानतलासी गरेकाे मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए ।
घर खानतलासी गर्दा थप ८४ किलो गाँजा भेटेको प्रहरीले सो स्थानबाट कार्कीसहित गाँजा ओसारपसारमा संलग्न भारतीय नागरिक २४ वर्षीय प्रबिण पासवान र विष्णुकान्त मिश्रलाई पक्राउ गरेको थियो ।
प्रहरीले २३४ किलो गाँजासहित पक्राउ गरेका पाँच जनाविरूद्ध मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।