रातो मछिन्द्रनाथको जात्रा सुरु, बेलुकी ५ बजे रथारोहण गरिने

ललितपुर, ८ वैशाख । वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मछिन्द्रनाथलाई आज बेलुकी ५ बजे रथारोहण गरेर जात्रा सुरु गरिने भएकाे छ ।

मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको त:बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याएर बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ।

हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यस जात्रा शुक्रबारदेखि सुरु भएको हो। विभिन्न किंवदन्तीमा आधारित रातो मच्छिन्द्रनाथको जात्रा वैशाख शुक्ल प्रतिपदाको दिन रथ तानेर सुरु गरिन्छ ।

किंवदन्ती अनुसार नेपाल उपत्यकामा लामो समयसम्म पानीको हाहाकार भयो। पानी नपरेको कारण उब्जनी भएन, भोकमरी सुरु हुँदैगयो। यसको कारण पत्ता लगाउन भक्तपुरका राजा नरेन्द्रदेवले आफ्ना गुरुसँग सुझाव माग्न पुगे।

गुरुले गोरखनाथले नागको आशन बनाई मृगस्थलीमा बसिरहेकाे पत्ता लगाए। नागहरू स्वतन्त्र नभएको कारणले पानी नपरेको हो र उनीहरुलाई स्वतन्त्र गर्न गुरुले सुझाव दिनुभयो।

गुरूले गोरखनाथलाई नागको आशनबाट उठाएमा मात्र वर्षा हुने बताउनुभयो। नागलाई जलको प्रतिक मानिन्छ। गोरखनाथका गुरु मछिन्द्रनाथ हुन्।

राजा नरेन्द्रदेवले काठमाडौंका तान्त्रिक बन्धुदत्त आचाजु (बज्राचार्य), यःल अर्थात् ललितपुरका ललित ज्यापु भारतको आसाम, गई तान्त्रिकले मन्त्र गरेर मच्छिन्द्रनाथलाई भमरा बनाई अष्टमंगल कलशमा राखी रातो मच्छिन्द्रनाथलाई नेपालमा ल्याएकाे भन्ने बिम्बदन्ती पनि पाइन्छ ।

त्यसरी आफ्ना गुरु मच्छिन्द्रनाथ देखेपछि नागलाई आशन गरेर बसेका गोरखनाथ गुरुको दर्शनका लागि उठेर जानेक्रममा नाग मुक्त भई वर्षा भएको र सहकाल लागेको भन्ने बिम्बदन्तीमा उल्लेख गरिएकाे छ । त्यसै अनुसार रातो मच्छिन्द्रनाथकाे जात्राकाे समयमा पानी पर्नेगरेकाे जनविश्वास रहेकाे पाइन्छ ।

रातो मच्छिन्द्रनाथकाे जात्राकाे अन्तिम दिन राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत रुपमा समापन गर्ने गरिन्छ । त्यसैले याे जात्रा लाई भोटो जात्रा पनि भन्ने गरिन्छ।