आज महिलाले मात्रै ताने रातो मत्स्येन्द्रनाथको रथ
ललितपुर, २५ वैशाख । रातो मत्स्येन्द्रनाथको रथ आज बिहान महिलाले मात्रै तानेर अलिकति अघि बढाए । आज बिहान ६ बजे इति टोलमा रहेको रथलाई महिला भक्तजनहरूले मात्रै केही मिटर तानेर थति टोल पुर्याएको थियो ।
मत्स्येन्द्रनाथको रथलाई लगनखेलबाट तानेर इति टोलमा पुर्याएपछि रथको टुप्पोबाट नरिवल खसाली अभिषेक गरिन्छ । हिजो साँझ नरिवल खसाली अभिषेक गरिएको थियो ।
त्यसैको भोलिपल्ट महिलाहरूले मात्रै रथ तान्ने परम्परा रहँदै आएको छ । यसलाई ‘याकः मिसाया भुज्याः’ भनिन्छ । आज बिहान भएको याकः मिसाया भुज्याःमा सहभागी हुन पाटन मात्र नभई अन्य जिल्लाबाट समेत महिलाहरू उपस्थित भएका थिए । रथ तान्न भक्तजनहरूको ठूलो भीड लागेको थियो ।
अबको केही दिन रथलाई यहीं राख्ने चलन रहे पनि यो वर्ष रथ धेरै नै ढल्केर बिग्रिएका कारण चाँडै जात्रा सकाउने तयारी भइरहेको बुझिएको छ । अब रथलाई थति टोलबाट तानेर जावलाखेल पुर्याइनेछ । तर रथ तान्ने दिन भने साइत हेरेर मात्रै निक्र्यौल गरिनेछ ।
आउँदो बिहीवार मंगल बजारको सोह्रखुट्टे पाटीमा बसी साइत निकाल्ने तयारी भइरहेको बुझिएको छ । त्यहाँबाट साइत निकालिएकै दिन मत्स्येन्द्रनाथको रथलाई जावलाखेल तान्ने गरिन्छ । रथ जावलाखेल पुगेको चार दिन पछि भोटो जात्रा हुन्छ र त्यसपछि रथ जात्रा समाप्त हुन्छ ।
जात्रा सकिएपछि रातो मत्स्येन्द्रनाथलाई त्यहींबाट सानो खटमा राखी बोकेर बुंगमती पुर्याइन्छ ।