एमाले केन्द्रीय कमिटीका लागि सचिवालयबाट १० एजेण्डा तय (यस्ता छन्, एजेण्डा)

काठमाडौं, २६ वैशाख । नेकपा (एमाले) को सचिवालय बैठकले आगामी केन्द्रीय कमिटी बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ । आज एमाले मुख्यालयमा बसेको सचिवालय बैठकले आसन्न केन्द्रीय कमिटी बैठकका लागि १० वटा एजेण्डा तय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभएको छ । उहाँका अनुसार बैठकले पहिलो एजेण्डाका रुपमा २०७९ साल भदौयता भएको राजनीतिक घटनाक्रमको विषयमा समीक्षासहित अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने, केन्द्रीय कमिटी बैठकयता भएका सचिवालय बैठकको निर्णय अनुमोदन, तेस्रो आयोग प्रमुखहरुले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

यस्तै, मिसन ग्रासरुटको समीक्षा र त्यससम्बन्धी प्रतिवेदन सातवटै भौगोलिक र २ गैरभौगोलिक प्रदेशको समीक्षा प्रतिवेदन सो प्रदेशमा संयोजन गर्ने पार्टीका सचिवहरुले प्रस्तुत गर्ने छन् । एमाले केन्द्रीय कमिटी बैठक वैशाख २८ देखि ३० सम्म काठमाडौंमा हुने तय भएको छ । बैठक झापामा बस्ने भनिए पनि अन्तिम समयमा काठमाडौं सरेको हो । संसदको बजेट अधिवेशनमा केन्द्रीय कमिटिका धेरै सदस्यहरु सांसद भएको र बैठकमा सहभागी हुनुपर्ने भएकाले बैठक काठमार्डौमै गर्ने तय भएको हो ।
बैठकपछि एमाले प्रचार विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा पनि १० एजेडा तय भएको उल्लेख छ ।

‘नेकपा (एमाले) को सचिवालयको २२ औं बैठक अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा आज (मङ्गलबार) पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बस्यो,’ विज्ञप्तिमा भनिएको छ,’ ‘बैठकमा अध्यक्ष कमरेड केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा सम्बोधन गर्नुभयो । बैठकमा महासचिव शंकर पोखरेलले बैठकका एजेण्डा प्रस्तुत गर्नुभएको थियो । बैठकमा यही बैशाख २८ गतेदेखि बस्ने केन्द्रीय कमिटीको पाँचौँ बैठकमा प्रस्तुत गरिने बिषयहरूका बारेमा छलफल भएको छ । बैठकले केन्द्रीय कमिटी बैठकका लागि १० वटा एजेण्डा तय गरेको छ । केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत हुने छ भने केन्द्रीय कमिटीको चौथो बैठकयताका निर्णयहरूको जानकारी र अनुमोदन गरिने छ ।’
त्यस्तै, बैठकमा केन्द्रीय आयोगका प्रमुखहरूको प्रतिवेदन प्रस्तुत, मिसन ग्रासरुटको समीक्षा, प्रदेश कमिटीको बार्षिक कार्ययोजना, स्थायी कमिटीको बैठक र बार्षिक कार्ययोजना, कार्यविभाजन, पार्टी प्रवेशीको व्यवस्थापन, समसामयिक प्रस्ताव र अध्यक्षको सम्बोधनसहित केन्द्रीय कमिटी बैठक सम्पन्न गर्ने निर्णय सचिवालय बैठकले गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।