फूल प्रसाद ल्याउन पानेजु संघलाई कीर्तिपुर नगरपालिकाको अनुरोध
कीर्तिपुर, २७ वैशाख । कीर्तिपुरको गःछेँस्थित प्यंगःथांमा राखिएको रातो मत्स्येन्द्रनाथको विवादास्पद मूर्ति हटाइसकेपछि कीर्तिपुर नगरपालिकाले मत्स्येन्द्रनाथका पुजारीहरूको संगठन ३२ पानेजु संघलाई पत्र लेखी त्यसको औपचारिक जानकारी दिएको छ ।
कीर्तिपुरमा राखिएको विवादास्पद मूर्ति हटाइसकेको कारण अब हरेक वर्ष झैं यो वर्ष पनि प्यंगःथांमा मत्स्येन्द्रनाथको फूल प्रसाद चढाउने परम्परालाई निरन्तरता दिन पनि पत्रमा अनुरोध गरिएको छ ।
बुंगमतीको ह्यगृव भैरव तथा ३२ पानेजु संघले कीर्तिपुरमा उक्त मूर्ति रहुन्जेलसम्म मत्स्येन्द्रनाथको फूल प्रसाद चढाउने कार्य गर्न नसकिने निर्णय गरेको थियो । यही विषयमा चलिरहेको विवादकै बीच गत आइतवार कीर्तिपुर नगरपालिका लगायत प्रहरी, विभिन्न वडाका वडा अध्यक्ष एवं स्थानीय समुदायको रोहवरमा मूर्ति झिक्ने कार्य गरिएको थियो ।
मूर्ति झिकिएको बारे पानेजु संघले अहिलेसम्म कुनै प्रतिक्रिया व्यक्त गरेको छैन । तर उक्त मूर्ति राख्ने कार्यको पहल गरेका सुखी गःछेँ समाजले भने एक वक्तव्य निकाली अब मूर्ति हटाएका कारण कुनै अनिष्ट हुन गएमा त्यसको जिम्मेवार गःछेँ पासा पुचः हुने भनी जानकारी दिएको छ ।
हाल पाटनको थति टोलमा राखिएको रातो मत्स्येन्द्रनाथको रथलाई जावलाखेल तान्नु चार दिन अघि पाटनका जल पानेजु नाङ्गो खुट्टा कीर्तिपुरको प्यंगःथांसम्म हिँडेरै पुग्ने र त्यहाँ राखिएको शिलामा आसन जमाई मत्स्येन्द्रनाथको फूल प्रसाद प्रदान गर्ने परम्परा रहँदै आएको छ । उक्त प्रसाद प्यंगःथां निवासी लक्ष्मीकुमारी महर्जनले ग्रहण गर्दै आएको छ । त्यसपछि सोही ठाउँका अन्य कन्याहरूले पनि ग्रहण गर्दछन् ।
पूmल प्रसाद ग्रहण गर्ने अविवाहित महिलालाई शक्ति स्वरुपा कन्या कुमारीका रुपमा लिने गरिन्छ ।
थति टोलमा रहेको मत्स्येन्द्रनाथको रथ अब जावलाखेल तान्ने साइत हेर्न भोलि बिहान मंगल बजारस्थित सोह्रखुट्टे पाटीमा स्थानीय जोशीहरूको भेला हुँदैछ । जोशी ज्योतिषहरूले निकालेको साइतमा मत्स्येन्द्रनाथको रथ जावलाखेलतिर तान्ने गरिन्छ । रथ तानेर जावलाखेल पुर्याएको चार दिन पछि भोटो जात्रा गरी रथ जात्रा समापन गरिन्छ ।