एमाले केन्द्रीय कमिटीकाे समूहगत छलफलपछि स्थायी कमिटीकाे बैठक बस्ने

काठमाडाैं, २९ वैशाख । एमाले केन्द्रीय कमिटी बैठक आज पनि पार्टी मुख्यालय च्यासलमा बस्दैछ।

आज हुने दोस्रो दिनको बैठक बिहान साढे १० बजेबाट सुरू हुनेछ । आजकाे कार्यक्रममा ४ वटा प्रदेश कमिटीले गत फागुनबाट सुरू गरेको मिसन ग्रासरूट अभियानमा केन्द्रित रहेर तयार पारेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बिहीबार बसेकाे बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे भने सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहोरा, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले निकायगत कामको प्रतिवेदन पेश गर्नुभएकाे थियाे ।

बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, मधेश, कोशी प्रदेशको प्रतिवेदन पेश भएकाे थियाे । सुदूरपश्चिमबाट सचिव लेखराज भट्ट, कर्णालीबाट सचिव योगेश भट्टराई, लुम्बिनीबाट सचिव छविलाल विश्वकर्मा, मधेशबाट सचिव छविलाल विश्वकर्मा र कोशीबाट राजेन्द्र गौतमले प्रतिवेदन पेश गर्नुभएकाे थियाे ।

आज बाग्मती, गण्डकी र उपत्यका विशेष कमिटीको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयाे ।

उहाँले बाँकी प्रदेशको प्रतिवेदन पेश भइसकेपछि समूह बनाएर छलफल गरिने र छलफलका लागि सात वटा प्रदेशको समूह तय भएको बताउनुभयाे ।

आजकै बैठकमा सबै समूहमा भएकाे छलफलको निष्कर्ष र सुझाव प्रस्तुत गर्ने कार्यसूची पनि रहेकाे छ।

त्यसपछि स्थायी कमिटीको बैठक बस्ने र स्थायी कमिटी बैठकले समूहगत छलफलको राय, सुझाव र निष्कर्षको आधारमा वार्षिक कार्ययोजना तय गर्ने कार्यसूची रहेकाे रिजालले बताउनुभयाे ।