गोरखामा जिप दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते

गोरखा, १ जेठ । गोरखामा गएराति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

दुर्घटनामा परी गण्डकी गाउँपालिका–६ निवासी ७८ वर्षीया किरमाया आलेको मृत्यु भएको हो ।

घाइते हुनेमा सोही ठाउँका ७७ वर्षीया कनमाया आले, ७८ वर्षीय धनबहादुर आले, ८१ वर्षीय तीर्थबहादुर आले, ७२ वर्षीय पूर्णबहादुर थापा र ६५ वर्षीया गङ्गामाया थापा छन् । घाइतेहरूकोे भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

काठमाडौँबाट घौचुरतर्फ जाँदै गरेको बा०१–०२५ च ६२०४ नम्बरको बलेरो जिप गोरखाको गण्डकी गाउँपालिका–६, घौचुरमा झण्डै ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

दुर्घटनापछि जिपका चालक ४३ वर्षीय केहरसिं थापालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिनुभयो । दुर्घटनाको कारण भने खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।