डिआर कंगोको ऐतिहासिक जित, उज्बेकिस्तानलाई हराउँदै पहिलो पटक नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को अन्तिम खेलमा डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डिआर कंगो) ले उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै डिआर कंगोले ऐतिहासिक सफलता हात पारेको हो।

खेलको १०औं मिनेटमै एल्डोर शोमुरोदोभले गोल गर्दै उज्बेकिस्तानलाई अग्रता दिलाएका थिए। पहिलो हाफभर सोही अग्रता जोगाएको उज्बेकिस्तान दोस्रो हाफमा भने दबाब थेग्न सकेन।

डिआर कंगोले ६८औं मिनेटमा योआने विस्साले पेनाल्टीमार्फत बराबरी गोल गरे। त्यसपछि ७८औं मिनेटमा वैकल्पिक खेलाडी फिस्टोन मायेलीले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। इन्जुरी समयमा विस्साले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै ३–१ को शानदार जित सुनिश्चित गरे।

यो जितसँगै डिआर कंगोले विश्वकप इतिहासमा पहिलो जित मात्र होइन, पहिलो पटक नकआउट चरणमा पुग्ने कीर्तिमान पनि बनाएको छ। समूह ‘के’ मा पोर्चुगल र कोलम्बियापछि तेस्रो स्थानमा रहँदै डिआर कंगो अन्तिम ३२ मा प्रवेश गरेको हो, जहाँ उसले इङ्ग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

यता, प्रतियोगितामा पहिलो पटक सहभागी बनेको उज्बेकिस्तानले समूह चरणका तीनै खेल गुमाउँदै निराशाजनक यात्राको अन्त्य गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *