शतप्रतिशत नतिजासहित अर्जेन्टिना नकआउटमा, मेस्सीले थपे नयाँ कीर्तिमान

काठमाडौं, १४ असार । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गर्दै समूह चरणको यात्रा शतप्रतिशत जितका साथ टुंग्याएको छ। यससँगै साविक विजेता अर्जेन्टिना तीनै खेल जित्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

डलासमा सम्पन्न खेलमा प्रशिक्षक लियोनेल स्कालोनीले प्रमुख खेलाडीहरूलाई आराम दिँदै टोलीमा नौ परिवर्तन गरेका थिए। त्यसका बाबजुद अर्जेन्टिनाले खेलको सुरुआतदेखि नै दबाब बनायो। २८औँ मिनेटमा जियोभानी लो सेल्सोले आकर्षक फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि पहिलो हाफको अन्त्यतिर लाउटारो मार्टिनेजले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए।

दोस्रो हाफको ५५औँ मिनेटमा वैकल्पिक खेलाडी मुसा अल–तामारीले गोल गर्दै जोर्डनलाई खेलमा फर्काउने प्रयास गरे। तर त्यसको केही समयपछि मैदान प्रवेश गरेका कप्तान लियोनल मेस्सीले उत्कृष्ट फ्रिकिकमार्फत गोल गर्दै अर्जेन्टिनाको ३–१ को जित सुनिश्चित गरे।

यो गोलसँगै मेस्सीले विश्वकप इतिहासमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी बन्ने कीर्तिमान कायम गरेका छन्। साथै विश्वकप फाइनल चरणमा उनको व्यक्तिगत गोल संख्या १९ पुगेको छ।

यो जितसँगै अर्जेन्टिनाले समूह ‘जे’ को शीर्ष स्थान सुरक्षित गर्दै अन्तिम ३२ मा केप भर्डेसँग भेट पक्का गरेको छ। यता, पहिलो पटक विश्वकप खेलेको जोर्डनले तीन खेलबाट अंकविहीन रहँदै समूह चरणबाटै प्रतियोगिताको यात्रा समाप्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *