रोमाञ्चक बराबरीसँगै अल्जेरिया र अस्ट्रिया अन्तिम ३२ मा, इरान बाहिरियो

काठमाडौं, १४ असार । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को अन्तिम खेलमा अल्जेरिया र अस्ट्रियाले ३–३ को रोमाञ्चक बराबरी खेलेका छन्। अन्तिम क्षणसम्म उतारचढावपूर्ण बनेको खेलको नतिजासँगै दुवै टोलीले नकआउट चरणमा स्थान बनाएका छन् भने इरानको यात्रा समूह चरणमै समाप्त भएको छ।

कान्सास सिटीमा सम्पन्न खेलमा अस्ट्रियाले २८औँ मिनेटमा मार्को अर्नाउटोभिचको गोलबाट अग्रता लिएको थियो। तर पहिलो हाफको इन्जुरी समयमा रफिक बेलघालीले उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्दै बराबरी गोल फर्काए र पहिलो हाफ १–१ को अवस्थामा सकियो।

दोस्रो हाफको ५५औँ मिनेटमा मार्सेल साबित्जरले गोल गर्दै अस्ट्रियालाई पुनः अग्रता दिलाए। त्यसको पाँच मिनेटपछि कप्तान रियाद महरेजले गोल गर्दै अल्जेरियालाई २–२ को बराबरीमा ल्याए।

खेल इन्जुरी समयतर्फ बढिरहेका बेला महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै अल्जेरियालाई ३–२ को अग्रता दिलाए र टोली नकआउट पुग्ने अवस्थामा देखिएको थियो। तर इन्जुरी समयकै अन्तिम मिनेटमा वैकल्पिक खेलाडी सासा कालाज्जिचले गोल गर्दै अस्ट्रियालाई ३–३ को बराबरी दिलाए।

यो बराबरीसँगै अस्ट्रियाले समूह उपविजेताका रूपमा अन्तिम ३२ मा स्थान सुरक्षित गर्‍यो भने अल्जेरिया उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भयो। अब अन्तिम ३२ मा अस्ट्रियाले स्पेनसँग तथा अल्जेरियाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

यता, अस्ट्रियाको अन्तिम मिनेटको बराबरी गोलका कारण इरानको नकआउट चरण पुग्ने सम्भावना समाप्त भएको छ। अन्तिम सिटका लागि आशामा रहेको इरान गोलअन्तरका आधारमा प्रतियोगिताबाट बाहिरिएको हो।