राष्ट्रपति र प्रधानमन्त्रीका राष्ट्रघाती काम र अभिव्यक्तिका विरुद्ध संसद अवरुद्ध गर्ने एमाले तयारी
काठमाडौं, २१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको भारत भ्रमणको सम्मुखमा ‘मृत’ अवस्थामा रहेको नागरिकता सम्बन्धि विधेयक प्रमाणीकरण गरेको विषयमा एमाले रुष्ट बन्दै आएको थियो । अझ उक्त विधेयक प्रमाणीकरणका नाममा सरकारी कागजात किर्ते गरेको बाहिर आइसकेको भन्दै यो विषयमा सदन बुलन्द रुपमा आवाज उठाउने एमालेले तयारी गरेको छ । त्योसँगै प्रधानमन्त्रीले भूमि साट्ने कुरा गरेको विषयप्रति पनि एमाले रुष्ट बनेको छ । यी दुबै विषयलाई संसदमा उठाउने एमालेको तयारी छ । त्यहि विषयलाई लिएर एमालेले संसद् अवरोध गर्नेसम्मको तयारी गरेको छ ।
संसद बैठक बस्नु अघि नै एमाले महासचिव शंकर पोखरेलले नेपाल र नेपालीको शीर निहुराउने भारत भ्रमण र कालापानी, लिपुलेक र लिम्पियाधुरा बंगलादेश जाने मार्गका लागि छोड्न सक्ने अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको भन्दै त्यसको विरोध गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले आजबाट जारी हुने बैठकमा जनता र राष्ट्रको सरोकारका यी विषयमा माननीयज्यूहरुको ध्यान गम्भीरतापूर्वक जानेनै भन्दै लामो भनाई सार्वजनिक गर्नुभएको छ । ‘बंगलादेश जानेवाटो नेपाल जस्ता भूपरिवेष्ठित राष्ट्रले पाउनैपर्ने अधिकारको विषय हो । यसलाई हाम्रो मिचिएको भूभागसँग जोडिनु गम्भीर राष्ट्रघाती सोँच हो,’ उहाँले भन्नुभएको छ, ‘यसप्रति सिङ्गो संसद र माननीयज्यूहरुको ध्यान गम्भीर रुपमा जानुपर्दछ ।’ उहाँले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीबाट धेरै कमजोरी भएको उल्लेख गर्नुभएको छ ।
महासचिव पोखरेलले प्रधानमन्त्री भारत भ्रमणमा जाँदैगर्दा हदम्याद गुज्रिएर निष्कृय बनेको विधेयक मन्त्रीपरिषदको निर्णयका आधारमा राष्ट्रपतिवाट प्रमाणिकरण हुनु संसदको क्षेत्राधिकारको गम्भीर उलंघनको विषय हो भन्दै त्यसको विरोधमा पनि संसदमा उठाउनु पर्नेमा जोड दिनुभएको छ ।
एमाले सचेतक महेश बर्तौलाले पनि राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तथा राष्ट्रको हित विपरीतका गतिविधि गरेकाले यसबारे प्रष्ट नभई सदन चल्न नदिने तयारी रहेको जानकारी दिनुभयो । संसद् छलेर राष्ट्रपतिले असंवैधानिक ढंगबाट विवादास्पद र मृत भइसकेको नागरिकता विधेयक पारित गर्ने कुरालाई स्वीकार गर्न नसकिने बर्तौलाको भनाई छ । त्यसैगरी भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले विदेशी भूमिमा गएर देशको राष्ट्रिय अखण्डताविरुद्धको अभिव्यक्ति दिएकोमा माफी मागेर फिर्ता लिनुपर्ने अडान पनि एमालेको रहेको बर्तौलाले जानकारी दिनुभयो ।