असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक
काठमाडौं,२५ जेठ । सडक विभागले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ ।
सडक विभागअन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको जनाएको छ ।
वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले सडक खन्न रोक लगाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
सूचनामा भनिएको छ, यही असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सड़क खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने छ ।’