भोटेकोशी बाढी: उद्धार र राहतका लागि एम्बुलेन्स र चिकित्सकसहितको टोली परिचालनगर्न का.वा. मेयर सुनिता डंगोलको निर्देशन
काठमाडौँ, १० भदौ । रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीले पुर्याएको क्षतिप्रति संवेदनशीलता देखाउँदै काठमाडौँ महानगरपालिकाले प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धार सहयोग पुर्याउने निर्णय गरेको छ।
बाढीका कारण रसुवाको टिमुरे र स्याफ्रुबेँसीसहित नुवाकोट, धादिङ, चितवन र गोरखा लगायतका जिल्लाहरूमा जनधनको ठूलो क्षति भएपछि महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा महानगर विपद व्यवस्थापन समितिको आकस्मिक बैठक बसेको हो।
नुवाकोटतर्फ एम्बुलेन्स परिचालन, विमानस्थलमा ‘अलर्ट’
बैठकले बाढी प्रभावितहरूको उपचार र उद्धारका लागि महानगरका ६ वटा एम्बुलेन्स परिचालन गर्ने निर्णय गरेको छ। जसमध्ये ४ वटा एम्बुलेन्स तत्कालका लागि नुवाकोटतर्फ पठाइएको छ भने २ वटा एम्बुलेन्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको छ। हेलिकोप्टरमार्फत उद्धार गरिने घाइतेहरूलाई विमानस्थलबाट तत्काल अस्पताल पुर्याउन यो व्यवस्था गरिएको महानगरले जनाएको छ।
स्वास्थ्यकर्मी र औषधिको व्यवस्थापन
महानगरले आफ्ना मातहतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई प्रभावित क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ। घाइतेहरूको उपचारका लागि आवश्यक पर्ने औषधिहरू महानगरको आपतकालीन सञ्चालन केन्द्रको मौज्दातबाट उपलब्ध गराइनेछ। यदि मौज्दात औषधि वा सामग्री अपुग भएमा महानगरपालिकाको ‘विपद व्यवस्थापन कोष’बाट तत्काल खरिद गरी पठाउने निर्णय समेत समितिले गरेको छ।
समन्वय र नेतृत्व
विपद प्रतिकार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन समितिका सदस्य सचिव एवं विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपाललाई समन्वय र सहजीकरणको जिम्मेवारी सुम्पिएको छ। उहाँले स्थानीय प्रशासन, सुरक्षा निकाय र अन्य सरोकारवालासँग समन्वय गरी महानगरको सहयोगलाई केन्द्रित गर्नुहुनेछ।
कार्यवाहक प्रमुखको सम्बोधन
बैठकलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले छिमेकी जिल्लाहरूमा परेको संकटमा काठमाडौँ महानगरपालिका मूकदर्शक बन्न नसक्ने बताउनुभयो। “हामीसँग उपलब्ध भएका स्रोत, साधन र दक्ष जनशक्तिलाई अधिकतम प्रयोग गरी बाढी प्रभावितहरूको जीवन रक्षा गर्नु हाम्रो पहिलो प्राथमिकता हो,” उहाँले भन्नुभयो।
महानगरपालिकाले आफ्नो आपतकालीन सञ्चालन केन्द्रमा रहेका अन्य उद्धार सामग्रीहरू पनि आवश्यकता अनुसार प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको छ। भोटेकोशीको बाढीले रसुवागढी नाका जोड्ने सडक सञ्जाल विच्छेद भएकाले उद्धार कार्यमा केही चुनौती देखिए पनि महानगरले हवाई र स्थल दुवै मार्गबाट हुनसक्ने सहयोगका लागि तयारी अवस्थामा रहेको जनाएको छ।