हटाइए बसपार्क बाहिरका टिकट काउण्टर

काठमाडाैं, १ असार । काठमाडौँभित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन गरेका छन् ।

काठमाडौँ महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउन गत जेठ १९ गते एक सूचना जारी गरी असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयको कार्यान्वयन गर्दै आजदेखि जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका हुन् ।

काठमाडौँभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायत क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस पनि आजदेखि नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन् ।

महानगरले आज बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालित टिकट काउण्टर हटाएको छ ।

महानगरको निर्णय कार्यान्वयन भएसँगै दैनिकरुपमा उपत्यका बाहिर सञ्चालित करिब दुई हजार सार्वजनिक यातायात बसपार्कभित्रबाट सञ्चालन हुनेछन् ।

नयाँ बसपार्कभित्रबाट यातायात सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ टिकट काउण्टर निर्माणलाई तीव्रता दिएको छ ।

लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले काठमाडौँ महानगरपालिकाले गरेको निर्णयको कार्यान्वयनका लागि नयाँ बसपार्कभित्र जीप तथा माइक्रोबसलाई नयाँ काउण्टर निर्माणको काम भइरहेको बताउनुभयो ।

माइक्रोबस तथा जीप समन्वय समितिका संयोजक राजेन्द्र आचार्यले नयाँ बसपार्कभित्रबाट सार्वजनिक यातायात सञ्चालन गर्न समिति लागिरहेको बताउनुभयो ।

यसअघि नयाँ बसपार्कबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा वालिङ, बुटवल, भैरहवालगायत ठाउँका लागि ठूला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए । त्यस्तै, कोटेश्वरबाट विपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र बल्खुबाट हेटौँडा चल्ने टाटासुमो सञ्चालन हुँदै आएका थिए ।

नयाँ बसपार्कबाट सार्वजनिक यातायात सञ्चालनमा भएसँगै यसअघि सञ्चालन हुँदै आएका क्षेत्रमा निश्चित समयका लागि ‘पिक एण्ड ड्रप’को व्यवस्था गर्न संयोजक आचार्यले महानगरसँग आग्रह गर्नुभयो ।

काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्दै पार्किङका लागि कामपाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँबसपार्क सञ्चालनमा ल्याएको थियो ।