दादुराका बिरामी दाङ र कालीकोटमा पनि देखियो
दाङ, ३ असार । दादुराका बिरामी दाङ र कालीकोटमा पनि फेला परेका छन् ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा निर्देशक डा विबेककुमार लाल दाङको बङ्गलाचुली नगरपालिका पाँच जना र कालीकोटको खडाचक्र नगरपालिकामा चार जनामा दादुराको सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।
उहाँले ती दुवै ठाउँका शङ्कास्पद बिरामीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा दादुराको सङ्क्रमण पुष्टि भएको बताउनुभयो । कालीकोटमा नौ जना र दाङका आठ जना शङ्कास्पद बिरामीको नमुना परीक्षण गरिएको थियो ।
यसअघि जेठ २४ गते काठमाडौँको गोकर्णेश्वरको एक विद्यालयमा पनि चार जनामा दादुराको प्रकोप देखिएको थियो । महाशाखाका निर्देशक डा लालले दादुराको प्रकोप प्रभावित ती ठाउँमा निगरानी तथा रोकथाम गरिरहेको बताउनुभयो ।
नेपालमा अहिलेसम्म १७ जिल्ला मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौँ, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, कालीकोट, कैलाली, कञ्चनपुर र बाजुरा मा दादुरा प्रकोप देखिएको छ ।
उहाँका अनुसार चालु आर्थिक वर्षमा हालसम्म कूल एक हजार २१ दादुराका बिरामी भेटिएका छन् । बाँकेको नेपालगञ्जमा दादुराबाट एक जनाको मृत्यु भएको छ । सरकारले प्रकोप प्रभावित जिल्लामा हालसम्म कूल दुई लाख १५ हजार ५४ जनालाई दादुरा विरुद्धको खोप लगाइएको छ ।