पश्चिमी र स्थानीय वायुको प्रभाव : पहाडमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, ७ जेठ । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको दोहोरो प्रभावका कारण पहाडी र हिमाली क्षेत्रको मौसममा फेरबदल आएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना देखिएको छ ।
यसअघि बुधबार पनि यी प्रणालीका कारण केही जिल्लामा भारी वर्षा भएको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार यी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, उच्च हिमाली भेगमा हिमपात हुन सक्ने देखिएको छ ।
बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ । यद्यपि, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागमा तापक्रम बढेर ‘तातो दिन’को सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि साधारण बदली रहनेछ । यी प्रदेशका थोरै स्थान र मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । बाँकी क्षेत्रको मौसम भने मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।