बेइजिङ शिखर सम्मेलन: पुटिन र सीद्वारा ‘बहुध्रुवीय विश्व’ निर्माणको साझा घोषणा

 

बेइजिङ (एजेन्सी), ७ जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा भएको ऐतिहासिक भेटवार्तापछि दुई देशले ‘बहुध्रुवीय विश्व’ र ‘नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्ध’ निर्माण गर्ने संकल्प गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण लगत्तै भएको यो शिखर वार्तालाई विश्व भू-राजनीतिमा शक्ति सन्तुलन फेर्ने प्रयासको रूपमा हेरिएको छ।

दुई नेताले ४७ पृष्ठ लामो संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्दै द्विपक्षीय सम्बन्धलाई ‘अभूतपूर्व’ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

 ‘बहुध्रुवीय विश्व’ र अमेरिकी प्रभुत्वको अन्त्य
चिनियाँ विदेश मन्त्रालय र रुसी समाचार एजेन्सी ‘तास’  का अनुसार दुवै देशले अबको विश्व एक वा दुई देशको नियन्त्रणमा मात्र रहन नहुने स्पष्ट पारेका छन्। अल जजीराका अनुसार सी जिनपिङले “एकपक्षीय प्रभुत्वको लहर बढिरहेको” भन्दै त्यसको सामाना गर्न रुस र चीन एक हुनुपर्नेमा जोड दिएका छन्। रुसी राष्ट्रपति पुटिनले पनि “एकध्रुवीय विश्वको युग समाप्त हुन लागेको” दाबी गर्दै अमेरिकाले आफ्नो प्रभाव जोगाउन द्वन्द्व निम्त्याइरहेको आरोप लगाएका छन्।

आर्थिक सहकार्य र ‘डि-डलराइजेसन’ (डलरको विकल्प)
क्रेमलिनका अनुसार दुई देशबीच करिब ४० वटा अन्तर-सरकारी र व्यापारिक सम्झौतामा हस्ताक्षर भएको छ। सबैभन्दा महत्वपूर्ण पक्ष, रुस र चीनबीचको व्यापारमा अमेरिकी डलरको प्रयोगलाई न्यूनीकरण गर्दै रुसी रुबल र चिनियाँ युआनको प्रयोगलाई तीव्रता दिइएको छ। गत वर्ष दुई देशबीचको व्यापार २४० अर्ब डलर पुगेको छ। युक्रेन युद्धपछि पश्चिमा देशहरूले लगाएको प्रतिबन्धका बीच रुसले आवश्यक प्रविधि र उपकरणका लागि ९० प्रतिशतभन्दा बढी चीनमा निर्भर रहनुपरेको प्रतिवेदनहरूले देखाएका छन्।

ऊर्जा सुरक्षा र ‘साइबेरिया-२’ पाइपलाइन
रुसले चीनलाई इन्धनको भरपर्दो स्रोत बनाउने घोषणा गरेको छ। लामो समयदेखि प्रतिक्षित ‘साइबेरिया-२’ पाइपलाइन निर्माणको मार्ग र प्रक्रियाबारे समझदारी जुटेको छ। यो पाइपलाइनमार्फत रुसले वार्षिक ५० अर्ब घनमिटर ग्यास मंगोलिया हुँदै चीन पठाउनेछ। युरोपेली बजार बन्द भएपछि रुसका लागि चीन कच्चा तेल र ग्यासको मुख्य ग्राहक बनेको छ।

सञ्चार र शिक्षामा साझेदारी
यस वर्ष रुसी समाचार एजेन्सी ‘तास’ र चिनियाँ सरकारी सञ्चारमाध्यम ‘सिन्ह्वा’ बीचको साझेदारीको ७० औँ वर्षगाँठ मनाइँदैछ। सोही अवसरमा दुई देशले खेलकुद, शिक्षा र मिडिया क्षेत्रमा पनि सहकार्य बढाउने बताएका छन्। विद्यार्थी आदानप्रदान कार्यक्रम र विश्वविद्यालयहरूबीच वैज्ञानिक अनुसन्धानमा सहकार्य गर्ने विषयमा पनि दुई नेताबीच सहमति भएको छ।

यो शिखर वार्ताले रुस र चीनबीचको सम्बन्ध केवल व्यापारिक मात्र नभई रणनीतिक र वैचारिक रूपमा पनि बलियो हुँदै गएको संकेत गरेको छ। पश्चिमा शक्तिहरूका विरुद्ध एकताबद्ध हुँदै यी दुई महाशक्तिले विश्व राजनीतिमा नयाँ ध्रुवीकरणको सुरुवात गरेका छन्।(अन्तराष्ट्रिय न्यूज एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *