मनसुनजन्य विपद् प्रतिकार्यमा नेपाली सेनाको व्यापक पूर्वतयारी, तीन ठाउँमा हेलिकोप्टर र पुल तयारी अवस्थामा
काठमाडौँ, ७ जेठ । नेपाली सेनाले सम्भावित मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै एकीकृत पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयनमा ल्याएको छ । विगतका अनुभव र सिकाइका आधारमा सेनाले यस वर्ष जनधनको क्षति न्यूनीकरण गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकारका निकायहरूका साथै अन्य सुरक्षा अंगसँगको समन्वयमा विशेष तयारी थालेको हो ।
सेनाका अनुसार विपद्को समयमा तत्काल परिचालन हुन सक्ने गरी प्रत्येक जिल्लास्थित गण तथा गुल्महरूमा आवश्यक सङ्ख्यामा फौजलाई तयारी अवस्थामा राखिएको छ । सबै प्रदेशस्थित पृतनाहरूमा विशेष क्षमतायुक्त खोज तथा उद्धार टोलीहरू आवश्यक उपकरणसहित तैनाथ गरिएका छन्, जसले बाढी र पहिरो जस्ता घटनामा प्रभावकारी कार्य गर्ने अपेक्षा गरिएको छ ।
दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन सेनाले हवाई साधनलाई उच्च प्राथमिकतामा राखेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार काठमाडौँका अतिरिक्त सुर्खेत र इटहरीमा एक–एक वटा हेलिकोप्टर ‘स्ट्यान्डबाई’ (तयारी अवस्थामा) राखिएको छ । मौसम पूर्वानुमानका आधारमा अन्य हवाई साधनलाई पनि उपयुक्त स्थानमा पूर्वतैनाथ (Pre-positioning) गर्ने सेनाको योजना छ ।
बाढी र पहिरोका कारण राजमार्ग अवरुद्ध भएमा तत्काल यातायात सुचारु गर्न विभिन्न रणनीतिक स्थानमा ‘बेलिब्रिज’ राखिएको छ । धादिङको गजुरी, चितवनको भरतपुर र बाराको जितपुरमा एक–एक सेट बेलिब्रिज तयारी अवस्थामा छ । यस्तै, काठमाडौँको गौचर ब्यारेकमा तीन वटा ‘द्रुत यान्त्रिक पुल’ र शीघ्र प्रतिकार्य टोलीलाई तयारी हालतमा राखिएको छ, जसलाई हवाई साधनमार्फत तुरुन्त प्रभावित क्षेत्रमा परिचालन गर्न सकिनेछ ।
विपद्का घाइतेहरूलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन देशभरका सैनिक अस्पतालबाट चिकित्सकसहितको टोली, औषधि र उपकरण तयारी अवस्थामा राखिएको छ । प्रत्येक पृतनामा आवश्यक खाद्यान्न तथा अन्य राहत सामग्रीको पनि व्यवस्थापन गरिएको छ । पहिरो पन्छाउन र सडक खुलाउन सैनिक इन्जिनियरिङ विभागबाट ‘हेभी इक्विप्मेन्ट’ र अपरेटरहरू पनि चौबिसै घण्टा तयारी अवस्थामा रहनेछन् ।
पूर्वतयारीलाई थप मजबुत बनाउन सेनाले गत वैशाख २१ देखि २३ गतेसम्म जङ्गी अड्डामा विभिन्न मन्त्रालय र दातृ निकायको सहभागितामा ‘अभ्यास हातेमालो’ सञ्चालन गरेको थियो । स्थानीय समुदायसँग मिलेर सामूहिक विपद् प्रतिकार्य तालिम समेत सञ्चालन भइरहेको छ ।
सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले सबै सरोकारवाला निकायसँगको सहकार्यमा पूर्वतयारी योजनाको सफल कार्यान्वयनमार्फत जनधनको क्षति न्यूनीकरण गर्न नेपाली सेना कटिबद्ध रहेको बताउनुभयो । सेनाको यो सक्रियताले विपद्को समयमा नागरिकमा सुरक्षा र भरोसाको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।