चितवनको कालिका नगरपालिकाद्वारा चेपाङलाई बाख्रा वितरण

चितवन, ८ असार । चितवनको कालिका नगरपालिकाले सीमान्तकृत चेपाङ परिवारलाई बाख्रा वितरण गरेको छ ।

नगरपालिकाले पहाडी क्षेत्रका वडामा बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत ५० चेपाङ परिवारलाई एक सय ५० वटा बाख्रा वितरण गरिएको हो ।

प्रतिपरिवार तीन वटाका दरले बाख्रा वितरण गरिएको कालिका नगरपालिका पशु शाखा प्रमुख ईश्वरी पौडेलले जानकारी दिनुभयो । कालिका–९ र ११ का २५/२५ परिवारलाई बाख्रा वितरण गरिएको हो ।

चेपाङको पोषण अवस्था सन्तोषजनक नभएकाले गर्भवती र दुई वर्षमुनिका बालबालिकालाई लक्षित गरेर बाख्रा वितरण गरिएको उहाँको भनाइ छ । वडा नं ९ मा नगरपालिकाको सहयोगमा स्थानीय शक्तिखोर महिला साना किसान कृषि सहकारी संस्थामार्फत बाख्रा वितरण गरिएको थियो ।

सहकारीमा आबद्ध कुपोषणको जोखिममा रहेका २५ चेपाङ परिवारलाई बाख्रा वितरण गरिएको सहकारीकी अध्यक्ष खडककुमारी खत्रीले जानकारी दिनुभयो । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि मासुमा समेत अनुदान दिने नीति लिएको छ ।