झापामा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
झापा, २० असार । झापाकाे गौरीगञ्ज गाउँपालिका–६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ, भने दुईजना घाइते भएका छन् ।
चट्याङ लागेर मृत्यु हुनेमा गौरीगञ्ज–६ स्थित खजुरगाछीका १५ वर्षीय विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खेतमा काम गर्न जाने क्रममा पानीसँगै परेको चट्याङ लागेर उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताउनुभयो ।
घटनामा भारतको फूलाबारी घर भई हाल सोही वडामा बस्दै आएका २० वर्षीय शिकन्दर आलाम र १६ वर्षीय मनिजुर आलाम घाइते भएका छन् ।
उनीहरुलाई उपचारका लागि गौरादहस्थित मेडिम्याक्स अस्पताल पठाइएको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।