कोशी प्रदेश सरकारको असंवैधानिक कदममा एमालेसँगै शेखर र बाबुरामको पनि विरोध
विराटनगर, २१ असार । कोशी प्रदेशमा नयाँ सरकार गठनमा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेपछि नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलले उक्त असंवैधानिक, अलोकतान्त्रिक र गैरसंसदीय अभ्यासको विरोध गरेको छ । नेकपा (एमाले) संसदीय दलका उपनेता रामबहादुर मगरको हस्ताक्षरमा विज्ञप्ति जारी गर्दै एमालेले विरोध गरेको हो ।
एमाले मात्रै होइन नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि कोशी प्रदेशमा बनेको नयाँ सरकारका असंवैधानिक भएको टिप्पणी गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो टिप्पणी गर्नुभएको हो ।
त्यसैगरी नेपाली कांग्रेसका नेता शेखर कोइरालाले त उक्त प्रक्रिया गलत हुने भन्दै मुख्यमन्त्री नियुक्ति हुनु अघि नै विरोध गर्नुभएको थियो । उहाँले उक्त कदम असंवैधानिक अभ्यास भनि विरोध गर्नुभएको हो ।
उहाँले त्यसलाई लोकतन्त्रको मर्यादा, अभ्यास र कानूनी शासनको विपरीत भन्नुभएको छ । ‘प्रदेश संसद्को सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो दलले आफ्नो सदस्य संख्यामा सभामुखलाई समेत गणना गरि पठाउने कुराको संबैधानिक ब्याख्या छैन। तर सभामुख आफैले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रुपमा पेस गरेको अवस्था हो भने यस्तो कार्य संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्दतिको सिद्धान्तविपरीत हुन जान्छ,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘सभामुखको संवैधानिक भूमिका भनेको व्यवस्थापिका संसदको कार्य संचालन गर्नु र अध्यक्षता गर्नु हो । यदि संसदमा पेस भएका विषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्ने बाहेक कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानूनी शासनको विपरीत हुन जान्छ।’